राजदेवी र तिरहुत फाइनलमा

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Rajdevi and Tirhut in the final

राजविराज — सातौं संस्करणको मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको फाइनलमा राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स पुगेका छन् ।

लगातारको वर्षाले बुधबारका दुवै सेमिफाइनल खेल रद्द भएको थियो । राजदेवी रोयल र खडक वारियर्सबीच बुधबार पहिलो सेमिफाइनल तथा तिरहुत र कन्चनरुप राइनोजबीचको दोस्रो सेमिफाइनल खेल वर्षाले सम्भव हुन सकेन । खेलको टससमेत भएन ।

आठ टिमलाई दुई समुहमा विभाजन गरेर खेलाइएको थियो । समूह ‘ए’ का विजेता राजविराज ३ खेलमा ५ अंक र समूह ‘बी’ बाट ३ खेलमा ६ अंकसहित तिरहुत सेमिफाइनल पुगेका थिए ।

समूह ‘ए’ बाट ३ खेलमा ४ अंकसहित कञ्चनरुप र समूह ‘बी’ बाट ३ खेलमा ४ अंकसहित खडक वारियर्स उपविजेता भएर सेमिफाइनल पुगेका थिए । वर्षाका कारण खेल सम्भव नभएपछि समूह चरणमा पाएको अंकका आधारमा राजदेवी र तिरहुत फाइनलमा पुगेको आयोजक सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले बताए ।

फाइनल बिहीबार हुनेछ । राजविराज नगरपालिकाको सहयोगमा भइरहेको लिगका विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयँ नगद प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully