काठमाडौँ — नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई वीरा एजुकेसन कन्सल्टेन्सीले आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । वीराले नेपाली महिला क्रिकेटकी उदाउँदी खेलाडी पूजालाई ‘आजीवन ब्रान्ड एम्बासडर’ बनाएको जनाएको छ ।
संयीय सांसद मनीष झा, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) अध्यक्ष शेषराज भट्टराईको उपस्थितिमा वीराकी संस्थापक एवं प्रबन्ध निर्देशक रेश्मा महर्जन र पूजाबीच सम्झौता भएको थियो ।
संस्थापक रेश्माले सो अवसरमा भनिन्, ‘महिला सशक्तीकरणसँगै महिला क्रिकेटरका लागि हामी साथ दिन आएका हौं । क्रिकेट खेलुन्जेल यो साथ रहनेछ, पूजालाई हामीले आजीवन ब्रान्ड एम्बासडर बनाएका छौं, थप १५ वर्षसम्म खेल्दा चिन्ता नगर्नू ।×’ गत वर्ष पूजाको नेतृत्वमा नेपालले पहिलो आईसीसी यू–१९ विश्वकप खेलेको थियो ।
पूजा सम्मिलित नेपाली राष्ट्रिय टोली दुई महिनाअघि बैंककमा भएको छनोट चरण पार गर्दै विश्वकप छनोटमा पुगेको छ । नेपालबाट पूजाले ३७ खेलमा ४ सय ३८ रन बनाइसकेकी छिन् । साथै उनले १६.४८ को औसतमा २७ विकेट लिइसकेकी छन् । ‘शिक्षा र क्रिकेट एकसाथ अगाडि बढ्नुपर्छ, त्यही भएर मलाई यस्तो साथको आवश्यकता थियो,’ पूजाले सम्झौतापछि भनिन्, ‘महिला क्रिकेट खेलाडीले खासै ठूलो अवसर नपाइरहेको अवस्थामा यो साथ मेरा लागि निकै ठूलो हो ।’
इक्यानका अध्यक्ष भट्टराईले हाल दर्जनभन्दा बढी पुरुष राष्ट्रिय क्रिकेट खेलाडी विभिन्न एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर भइसकेको र पूजालाई वीराले आबद्ध गरेपछि अन्य महिला खेलाडीका लागि पनि यो प्रक्रिया सुरु भएको जनाए । क्यान अध्यक्ष चन्दले एजुकेसन कन्सल्टेन्सीले क्रिकेट खेलाडीलाई ढुक्कका साथ खेल्ने वातावरण बनाइरहेकामा धन्यवाद दिए ।
नेपाली क्रिकेटमा देखा परेको विवादको प्रसंगमा उनले नेपाल प्रिमियर लिग क्रिकेटको जोड तोडका साथ तयारी भएको जनाए ।
