युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको पीएसजी उत्कृष्ट फर्ममा
इस्ट रडरफोर्ड — चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई आइतबार हुने फाइनलमा क्लब विश्वकप जित्नबाट रोक्ने हो भने कुनै न कुनै उपाय त निकाल्नु नै पर्नेछ । फिफाले आयोजना गरेको विस्तारित प्रतियोगिता जितेर पीएसजीले आफूले यसअघि जितेको युरोपेली च्याम्पियन्स लिगमा थप सफलता जोड्न सक्नेछ ।
पीएसीजीले फाइनलमा इन्टर मिलानलाई सजिलै ५–० ले हराएर उत्साहित हुँदै अमेरिका गएको थियो । त्यहाँ पनि उसले त्यही लय देखाएको छ, जुन त्यस फाइनलको थियो । त्यसैले पीएसजी नै उपाधिको बलियो प्रत्यासी रहेको छ । समूह चरणमा एटलेटिको म्याड्रिडलाई ४ गोल गरेको पीएसजीले अन्तिम १६ मा लियोनल मेसीको इन्टर मियामीमाथि पनि ४ गोल गरेको थियो । त्यसपछि क्वाटरफाइनलमा बायर्न म्युनिक जत्तिको टिमलाई हराउन पनि खासै मिहिनेत गर्नु परेन ।
सेमिफाइनलमा त गज्जब नै गर्यो, केलियन एमबाप्पेको रियल म्याड्रिडमाथि पनि ४ गोलको जित निकाल्यो । यस्तोमा फ्रान्सेली राजधानी पेरिसको यो क्लब त्यस्तो मोडमा छ, जहाँ उसले अद्वितीय सफलता हात पार्न सक्नेछ, एकपछि अर्को उपाधिको ‘क्लिन स्विप’ गरेर । पीएसजी २०२४–२०२५ को सिजन फ्रान्सेली लिग र कपको विजेता त रह्यो नै, युरोपेली च्याम्पियनपछि अब क्लब विश्व च्याम्पियन पनि हुन सक्छ ।
‘सुरुदेखि नै हाम्रो लक्ष्य यस्तै सफलता चुम्ने थियो । तर अधिकांश समय यस्तो उपलब्धि चुम्न गाह्रो हुन्छ । खासमा यस्तो उपलब्धि धेरै कमैले मात्र हात पारेका छन्,’ पीएसजीका प्रशिक्षक लुइस एनरिकेले भनेका छन् । फाइनल मेट लाइफ स्टेडियममा हुनेछ र यसको दर्शक क्षमता रहेको छ, ८२ हजार ५ सय । म्यानहटनको गगनचुम्बी घरको पृष्ठभूमिमा हुने लागेको फाइनलका मुख्य अतिथि हुनेछन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।
तर पीएसजीका लागि यसपल्ट सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका डिजाएर डोउ मान्छन्,
आफ्नो टिमलाई लगातारको राम्रो प्रदर्शनको कुनै दम्भ छैन । ‘हामी पक्कै पनि आत्मविश्वासी छैनौं । हुने पनि छैनौं । यसपल्टको प्रतियोगिताका अधिकांश खेल अगाडि हामी नै जितका लागि बलियो प्रत्यासी रहेका थियौं । तर सबैलाई थाहा छ, खेलको नतिजा पूर्णतः मैदानको प्रदर्शनमै निर्भर हुनेछ ।’
त्यसो त चेल्सीसामु पनि उपाधि जित्नका लागि प्रेरित रहने अनेक कारण छन् । चेल्सीले यो सिजन युरोपा कन्फ्रेन्स लिग त जितेको छ नै, इंग्लिस प्रिमियर लिगमा सबैभन्दा गाह्रो मानिने शीर्ष चार पनि हात पारेको छ । समूह चरणमा पीएसजी बोटाफोगोविरुद्धको एउटा खेल गुमाएको थियो । चेल्सीले पनि समूह चरणमा फ्लेमिङविरुद्धको खेल गुमाएको थियो । तर फाइनल पुग्ने क्रममा उसले बेनफिकासँगैं दुई ब्राजिली टिम पाल्मेरियास र फ्लुमिनेजलाई पराजित गरेको छ ।
चेल्सी डिफेन्डर लेभी कोलविल भन्छन्, ‘यदि सबैले हामी नै फाइनलमा पराजित हुने टिम मान्छ भने त्यस स्थितिमा हामीलाई झन् गुमाउने केही पनि रहने छैन । हाम्रो काम भनेको मैदानमा उत्रने र राम्रो खेल्ने प्रयास गर्ने नै हो । हामी आत्मविश्वासी छौं र कुनै पनि प्रतिद्वन्द्वीलाई स्तब्ध पार्ने गर्न भरोसा राख्छौं ।’
सन् २०२५ मा पीएसजीले अन्य प्रिमियर लिगलाई हराएको इतिहास भने यस प्रसंगमा महत्त्वपूर्ण तथ्य रहनेछ । पीएसीले च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा म्यानेस्टर सिटी, लिभरपुल, एस्टन भिल्ला र आर्सनल सबैलाई हराएको थियो । चेल्सीका रक्षक रेस जेम्स भन्छन्, ‘पीएसजीविरुद्धको फाइनल पक्कै पनि माथिल्लो दर्जाको खेल हुनेछ । फाइनलमा त्यस्ता दुई टिम छन्, जसलाई सबैभन्दा राम्रो भन्न सकिन्छ । तर फाइनल एकै खेलको प्रतिस्पर्धा मात्र हो, त्यसैले जे पनि हुन सक्छ । यो खेललाई लिएर अरूले के कस्तो दाबी गर्छ, त्यो मलाई मतलब छैन ।’
