काठमाडौँ — एसिसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि दिलाउनेमध्येका एक क्रिकेटर सुशील रावललाई रुप्से होलिडेजले एक लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै रावलले आफू अन्डर–१९ राष्ट्रिय टोलीको छनोटका लागि भारतमा विशेष तालिम लिन गइरहेको र त्यसका लागि कम्तीमा एक लाख रुपैयाँ आवश्यक परेको जनाएका थिए । उनले खादा र माला नभई प्रत्यक्ष रूपमा क्रिकेटको लागि सहयोगको अपील गरेका थिए ।
उनीप्रति देखिएको प्रतिबद्धता स्वरूप रुप्से होलिडेजले एक साताभित्र नेपाल क्रिकेट संघमार्फत नगद सहयोग हस्तान्तरण गर्ने जानकारी दिएको हो ।
रावलजस्ता उदीयमान खेलाडीको हुटहुटी र आर्थिक अभावले प्रतिभा ओझेलमा पर्न नदिन सहयोग गरिएको रुप्से होलिडेजले जनाएको छ ।
