नेपालको समूहमा जापान र कुवेत

असार २७, २०८२

कान्तिपुर संवाददाता

Japan and Kuwait in Nepal's group

काठमाडौँ — नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटको समूह चरणमा कुवेत र जापानलाई प्रतिद्वन्द्वी पाएको छ । ओमानमा अक्टोबर ८ देखि १७ सम्म हुने प्रतियोगिताको खेलतालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको छ । सबै खेल अमेरातमा हुनेछ । 

समूह–१ मा यूएई, मलेसिया र कतार, समूह–२ मा नेपाल, कुवेत र जापान तथा समूह–३ मा ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन् ।

सबै समूहका शीर्ष २ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा ६ टोली प्रतिस्पर्धा गरेपछि शीर्ष ३ टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछ । दुई वर्षअघि नेपालमा भएको ट्वान्टी–२० विश्वकप छनोटबाट ओमान र नेपालले विश्वकप यात्रा तय गरेको थियो । एसिया प्यासिफिकलाई एसिया क्षेत्रमा समेटर यसपालिदेखि यस क्षेत्रबाट तीन राष्ट्र ट्वान्टी–२० विश्वकपमा पुग्ने नियम बनाइएको छ । 

ओमानमा ट्वान्टी–२० विश्वकप छनोट खेल्नुअघि नेपालले शारजहाँमा वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । माथिल्लो राष्ट्रविरुद्ध नेपालले पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो ।

कान्तिपुर

Link copied successfully