काठमाडौँ — अन्तर्राष्ट्रिय पदक जितेका विभिन्न खेलका खेलाडी बुधबार सरकारबाट प्रदान गरिने घोषित पुरस्कार रकमबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अन्तर्गत सबैभन्दा ठूलो पुरस्कार राशि उसुका विजय सिन्जालीले पाएका छन् ।
उनले कांस्य पदक जितेमबापत ६५ लाख पाएका हुन् । व्यक्तिगत रूपमा यति ठूलो पुरस्कार राशि पाउने उनी पारा ओलम्पिकमा कांस्य जितेकी पलेशा गोवर्धनपछि दोस्रो नेपाली खेलाडी हुन् । पेरिस पारा ओलम्पिकमा कांस्य जितेकी पलेशाले पनि ६५ लाख नै पाएकी थिइन् ।
ओलम्पिक, युथ ओलम्पिक, पारा ओलम्पिकसहित विश्वकप फुटबल र अन्तर्राष्ट्रिय खेलकुद महासंघको विश्व च्याम्पियनसिपमा पदक जित्नेमा स्वर्णलाई १ करोड ३० लाख, रजतलाई ९७ लाख र कांस्यलाई ६५ लाख रुपैयाँ प्रदान गरिने नियमावलीमा छ ।
जापान उसु ताइची महासंघको आयोजनामा गत कात्तिक ७ देखि १२ सम्म जापानमा भएको तेस्रो थाउलु वर्ल्डकपमा राष्ट्रिय उसु खेलाडी विजयले कांस्य जितेका थिए । त्यस्तै असोज २० देखि २६ सम्म श्रीलंकामा भएको काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपका उपविजेता नेपाली राष्ट्रिय पुरुष टोलीका खेलाडीले जनही ३ लाख रुपैयाँ पाएका छन् ।
पुरस्कृत खेलाडीमा अर्जुन नेपाली, पहल गहतराज, अशोक राना, शैलेन्द्र यादव, सूर्य बिक, सुरेश मल्ल, विश्वास अधिकारी, लेसमन राहादी, सागर रसौली, सुजन सुनार र दिपेश कुँवर छन् । मुख्य प्रशिक्षक रमेश केसीले २ लाख, सहायक प्रशिक्षक लालबहादुर बटाला र व्यवस्थापक गणेशसिंह ठगुन्नाले समान १ लाख २० हजार पुरस्कार पाए ।
गत फागुन २० देखि २५ सम्म इरानमा भएको छैटौं एसियन कबड्डी च्याम्पियनसिपमा कांस्य जितेको नेपाली महिला कबड्डी टोलीका खेलाडीले जनही १ लाख ५० रुपैयाँ पुरस्कार पाएका छन् । खेलाडीमा मानमति विष्ट, जयन्ती बडु, गंगा घिमिरे, रविना चौधरी, सिर्जना कुमारी थारु, आस्मा यादव, मनीषा जोशी, निशा खत्री, निशा बोहरा र विनिता पण्डित क्षेत्री छन् । प्रशिक्षक हरिना थापाले ९० हजार पाएका छन् ।
सोही अवसरमा मलेसियामा भर्खरै सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट च्याम्पियन नेपाली युवा टोलीलाई बधाई तथा स्वागत गरिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेतालाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।
