खेलकुद अनुसन्धान केन्द्र र हाइपर्फमेन्स सेन्टरको उद्घाटन

असार २६, २०८२

कान्तिपुर संवाददाता

Inauguration of Sports Research Center and Hyperperformance Center

काठमाडौँ — खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइ पर्फमेन्स सेन्टरको बिहीबार उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले दुवै संरचना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा निर्माण गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्र र सेन्टरमा रहेको उद्घाटन गरेका थिए । उनले सेन्टरमा रहेका उपकरणका बारेमा पनि जानकारी लिएका थिए । उनले परिसर हातामै रहेको आउटडोर र हिटिङ पौडी पोखरीको पनि अवलोकन गरेका थिए ।

राखेपले नेपाली खेलकुद इतिहासमा पहिलो पटक खेलाडीका लागि उच्चस्तरको सुविधासम्पन्न प्रशिक्षण केन्द्र निर्माण गरेको हो । सेन्टरको निर्माणले नियमित रूपमा प्रशिक्षण गर्नका लागि सुविधासम्पन्न प्रशिक्षण स्थलको अभावलाई थोरै भए पनि पूरा गर्ने राखेपको अपेक्षा छ ।

सेन्टरमा १ सय जनाले एकै पटक अभ्यास गर्न सक्ने छन् । सेन्टरको क्षेत्रफल ७ हजार ५ सय ७८ वर्ग फिट छ । सेन्टरमा जिम सुविधा छ । त्यसको क्षेत्रफल ४ हजार ९६ वर्ग फिट छ ।

जिममा १० वटा बाथरुम, ३० जनाले एकै पटक प्रयोग गर्न सक्ने चेन्जिङ रुम, लकर रुम, कार्यालय कक्ष, भण्डार कोठा, सुविधा सम्पन्न शौचालय, थेरापी रुम, स्टिम रुम, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, सिटेड रो, पुलडाउन, स्क्वाट स्टेन्ड, फङ्सनल ट्रेनिङ सिस्टम, एङगल्ड लेग प्रेस, लेग एक्सटेन्सन, लेग कर्ल, स्मिथ मसिन, पावर स्टेन्ड, एड्जस्टेबल डिक्लाइन स्टेन्ड, फ्लेट स्टेन्ड, ओलम्पिक फ्लेट स्टेन्ड, डिप/चिन एसिस्ट, सिटेड काल्फ, वेट प्लेट ट्रि, टु टायर डम्बेल स्टेन्ड, बारबेल र्‍याक स्ट्रेट, ब्याक एक्सटेन्सन लगायतका उपकरण राखिएको छ ।

त्यस्तै अत्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परीक्षण र अनुसन्धान गरी खेलाडीको प्रशिक्षण थप प्रभावकारी बनाउने उद्देश्यसहित राखेपले अनुसन्धान केन्द्र स्थापना गरेको हो ।

Inauguration of Sports Research Center and Hyperperformance Center

केन्द्रमा पोर्टेबल भिओ, टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, सर्फेस ईएमजी, मोसन ट्रेकिङ, बीएफआर, एसभीटी (इन ह्यान्ड को–ओर्डिनेसन टेस्ट, साइकल इर्गोमिटर, बायो मेकानिक्स फुल सिस्टम विथ सफ्टवेयर, टाइमिङ गेट, इसोकाइनेटेक, डुएल प्लेट र इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटरलगायतका उपकरण जडान गरिएको छ ।

प्रधानमन्त्री ओलीले सीमित श्रोत र साधानका बावजुद खेलाडीले प्रगति गर्नुका साथै देशको गौरव कायम गरेको बताए । यसले खेलाडीको खेल गुणस्तरमा परिवर्तन ल्याउने धारणा व्यक्त गर्दै उनले सेन्टरको सक्दो सदुपयोग गर्न सुझाए ।

प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरस्थित सूर्यविनायकमा कम्तीमा २५ देखि ५० हजार दर्शक अट्ने रंगशाला बनाउने योजना रहेको बतार्उदै कीर्तिपुर रंगशालाको क्षमता पनि दोस्रो चरणमा विस्तार गरिने बताए ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी सेन्टर र केन्द्रबाट खेलाडीले थप लाभ लिने विश्वास व्यक्त गर्दै खेलाडीको क्षमता मापन गर्न पनि सहज हुने बताए । राखेपका उपाध्यक्ष ध्रुव आचार्यले खेलाडी देश बनाउने आधारभूत स्रोत र शक्ति भएको बताउँदै खेलकुद दक्ष र स्वस्थ नागरिक निर्माण गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद खेलकुद विज्ञानको नयाँ युगमा प्रवेश गरेको बताउदै खेलाडीको उच्च प्रदर्शनका लागि सेन्टर स्थापना गरिएको बताए । उनले खेल क्षेत्र उद्योग हो भन्ने विश्वासका साथ अगाडि बढेको बताउँदै राष्ट्रलाई खुसी र एकता बनाउने माध्यम खेलकुद पनि भएको धारणा व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully