काठमाडौँ — तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री राजु क्षेत्री दक्षिण कोरियाको बुसान सहरमा भएको विश्व वरीयताको किमुन्योङ कप तेक्वान्दो च्याम्पियनसिपमा निर्णायक बनेका छन् ।
जुलाई ०५ देखि ८ सम्म भएको प्रतियोगितामा क्षेत्रीले सफलतापूर्वक निर्णायकको भूमिका निर्वाह गरे । यस च्याम्पियनसिपमा उनी तेस्रो पटक जजको भूमिका रहेका थिए । प्रतियोगितामा ४० मुलुकका झन्डै २५ सय खेलाडीको सहभागिता रहेको थियो ।
युएस ओपनमा तेस्रो पटक निर्णायक बनिसकेका अन्तर्राष्ट्रिय निर्णायक क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–१ प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा पनि जज बनिसकेका छन् ।
सन् २००८ मा भएको विश्व वरीयताको जी–टु कोरियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा क्षेत्रीले स्वर्ण पदक जितेका थिए । उनी अप्रिलमा विश्व तेक्वान्दो (डब्लूटी) को विदेश विभाग उपाध्यक्षमा मनोनीत भएका थिए ।
