जिम्बावे — ब्रायन लाराको सम्मानमा दक्षिण अफ्रिकी कप्तान वियान मुल्डरले विश्व टेस्ट कीर्तिमान स्कोरभन्दा ३३ रन अगाडि नै इनिङ्स समाप्ति घोषणा गरेको बताएका छन् ।
जिम्बावेविरुद्ध क्विन्स स्पोर्ट्स क्लबमा सोमबार उनी आफैंले त्यो बहादुरीपूर्ण त्यागको निर्णय गरेका थिए । मुल्डर ३ सय ६७ रन बनाएर नटआउट रहे । यो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका लागि अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो ।
दोस्रो दिनका लञ्चअघि दक्षिण अफ्रिकाले आफ्नो इनिङ्स समाप्ति भएको घोषणा गरेको थियो । त्यति बेला टिम ५ विकेट गुमाएर ६ सय २६ रनको स्थितिमा थियो । जिम्बावेले भने पहिलो इनिङ्समा १ सय ७० रन बनाएको थियो । ‘लारा महान् हुन् । उनले इंग्ल्यान्डविरुद्ध ४ सय रन बनाएका थिए । उनी जत्तिको खेलाडीलाई यो कीर्तिमान विशेष छ,’ मुल्डरले भने ।
उनले थपे, ‘मैले फेरि दोहोर्याएर यस्तो मौका पाउँछु भने यही निर्णय गर्नेछु ।’ उनको निर्णयमा दक्षिण अफ्रिकी प्रशिक्षक सुक्री कोरान्डले सहमति जनाए । कोरान्डले भने, ‘मुल्डरले मलाई भनेका थिए, लाराको कीर्तिमान कायम राख्नुपर्छ ।’ उनले दोस्रो दिन २ सय ६४ रनबाट खेल्न सुरु गरेका थिए । २ सय ९७ बल सामना गरेर टेस्ट क्रिकेटमा उनी तेहेरो शतक बनाउने दोस्रो दक्षिण अफ्रिकी ब्याटर भए ।
सबैभन्दा कम बल सामना गरेर बनाएको यो दोस्रो छिटो तेहेरो शतक पनि हो । यसअघि सन् २००७–०८ मा वीरेन्द्र सेवागले दक्षिण अफ्रिकाविरुद्ध नै चेन्नईमा २ सय ७८ बलमा तेहेरो शतक बनाएका थिए । दक्षिण अफ्रिकी ब्याटरमध्ये हसिम अमलाले इंग्ल्यान्डविरुद्ध ओभलमा सन् २०१२ मा ३ सय ११ रन नटआउटको तेहेरो शतकको इनिङ्स खेलेका थिए ।
जिम्बावेली कमजोर बलिङको सामना गर्दै मुल्डरले ३ सय ३४ बल सामना गरे । त्यसमा ४९ चौका र ४ छक्का प्रहार गरे । मुल्डरले प्रतिक्रिया दिए, ‘तेहेरो शतकको त परै जाओस्, मैले टेस्ट क्रिकेटमा शतक बनाउनेसम्म सपना पनि देखेको थिइनँ । दक्षिण अफ्रिकाका लागि खेल्न सुरु गर्दा पनि म राम्रो खेलाडी थिइनँ । तर मैले यसक्रममा अरू खेलाडीबाट सिक्ने मौका भने पाएँ ।’
