काठमाडौँ — नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम/आईटीएफ/एटीएफ यू–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन् ।
शिभालीले फ्रान्समा दुई, जर्मनी र बेल्जियममा १–१ प्रतियोगिता खेल्ने छन् । प्रतियोगिता खेल्नुअघि शिभाली जुलाई ११ देखि १३ सम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुने छिन् । त्यसपछि शिभालीले जुलाई १४ देखि २० सम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्ने छिन् ।
जुलाई २१ देखि २७ सम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा सहभागी हुने शिभालीले जुलाइ २८ देखि अगस्ट ३ सम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुत्से टेनिसमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । अगस्ट ४ देखि १० सम्म बेल्जियममा हुने योङ च्याम्पियनसिप कपमा पनि भाग लिने शिभाली बुधबार फ्रान्स जाने छिन् ।
प्रतियोगितामा नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुन् । एसियामा चौथो वरीयताप्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस संघले जनाएको छ । एसियाबाट ६–६ पुरुष/महिला खेलाडी मात्र छनोट भएका थिए ।
शिभालीलाई नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मूल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले कार्यक्रमबीच बिदाइ गरे ।
