कपिलवस्तु — मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेका १६ वर्षीय रौनक श्रीवास्तवलाई कपिलवस्तुमा सम्मान गरिएको छ ।
क्रिकेट संघ जिल्ला शाखाद्वारा आयोजित कार्यक्रममा उनलाई फूलमाला र अबिर लगाएर राष्ट्रिय गीत बजाउँदै गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । त्यसपछि तौलिहवामा आयोजित कार्यक्रममा उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेका थिए ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले नगद ५१ हजारसहित सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, युवा नेता प्रकाश घिमिरेले ५ हजार नगद, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयाद्दिन कुर्मीले २ हजार १ सय नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । त्यस्तै, कपिलवस्तु नगरपालिका, वडा नं. ३ का अध्यक्ष रुद्रप्रकाश गैरेले २५ हजारको क्रिकेट ब्याट प्रदान गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डे, कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेल, क्यानका पूर्वकेन्द्रीय सचिव प्रशान्तविक्रम मल्ल, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक निरञ्जन भट्ट र युवा नेता प्रकाश घिमिरेले बोलेका थिए ।
त्यस्तै, शिवराज नगरपालिकास्थित चन्द्रौटमा पनि आजै स्थानीयले उनलाई नगदसहित समान गरेका छन् ।
एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताकामा नेपालका श्रीवास्तव उत्कृष्ट ब्याटर पनि घोषित भए । उनले सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटरको दुई ट्रफी प्राप्त गरेका छन् । जिल्लाका कृष्णनगर नगरपालिका–१, मडहाका श्रीवास्तवले ६ खेलको ३ इनिङ्समा २ सय ९६ रन प्रहार गरेका छन् । उनी शनिबार सम्पन्न प्रतियोगिताका सर्वाधिक रनकर्ता समेत हुन् । उनले १ शतक र १ अर्धशतक प्रहार गरेका थिए ।
इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा १६८ रन बनाएका थिए । भुटानविरुद्ध १३२ बल खेलेर ५ छक्का र १६ चौका छक्का प्रहार गरेर विशाल स्कोर बनाएका हुन् । यो स्कोर नेपालले कुनै पनि स्तरको अन्तर्राष्ट्रिय खेलमा प्रहार गरेको व्यक्तिगत उच्च स्कोर पनि हो । यसअघिको उच्च स्कोरको कीर्तिमान अर्जुन कुमालका नाममा थियो । उनले सन् २०२३ मा एसिसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए ।
मंगलबार रौनकले त्यो रेकर्ड तोड्दै १६८ रनको ऐतिहासिक इनिङ्स खेलेका हुन् । रौनकलाई एसियन क्रिकेट काउन्सिल (एसीसी)ले पनि उत्कृष्ट ब्याट्सम्यान र सर्वोत्कृष्ट खेलाडी भएकामा बधाई दिएको छ ।
