लन्डन — रुसकी अनास्टासिया पाभ्लीउचेनकोभाले आइतबार चौथो चरणको खेलमा विजय हात पारिन् । सेन्ट्रल कोर्टमा दुई घण्टाभन्दा बढी चलेको खेलमा उनले ब्रिटिस खेलाडी सोनाय कार्टललाई ७–६ (७/३), ६–४ ले पराजित गरेकी थिइन् । खेल विवादले भरिपूर्ण रह्यो ।
तर त्यसमा प्राविधिक समस्या देखियो । विम्बल्डनको १ सय ५० वर्षको इतिहासमा पहिलो पटक निर्णायकलाई ‘अटोमेटेड सिस्टम’ ले विस्थापित गरेको छ । पहिलो सेट निकै प्रतिस्पर्धात्मक चलिरहेको अवस्थामा कम्प्युटरले काम नगर्दा खेलको लय नै मोडियो, जुन निर्णायक हुन सक्थ्यो ।
४–४ को स्थिति रहेको समयमा पाभ्लीउचेनकोभासामु दुई ब्रेक प्वाइन्ट रहेको थियो, त्यसलाई गेम प्वाइन्टसम्म पुगाएकी थिइन् । कार्टलले ब्याकह्यान्डमा गरेको प्रहार स्पष्ट रूपमा बेसलाइनल बाहिर झरेको थियो, तर त्यसमा जजबाट कुनै कल आएन । चेयर अम्पायर निको हेलवेर्थले ‘स्टप स्टप’ भन्दै खेल रोकेका थिए । चेयर अम्पायर हेलवर्थले दर्शकहरूलाई ‘सिस्टम परिक्षण भइरहेको की नभएको भनेर हेरिरहेका छौं, किन भने त्यसमा कुनै अडियो कल छैन ।’
टेलिफोन संवादपछि उनले फेरि भने, ‘दुर्भाग्यवश भन्नुपर्दा पछिल्लो प्वाइन्ट ट्र्याक गर्न सकिएन, अव फेरि त्यही प्वाइन्ट खेलिनेछ ।’ कार्टलले त्यसलाई ब्रेक गर्दै ५–४ को अग्रता बनाएकी थिइन् । जवाफमा पाभ्लीउचेनकोभाले अम्पायरतर्फ इंगित गर्दै भनिन्, ‘उनीहरू मबाट खेल छिनिरहेका छन् ।’ तर रुसी नम्बर ५० खेलाडीले ब्रेक गर्दै टाइब्रेकमा सेट आफ्नो पक्षमा पारेर खेल जितेकी थिइन् ।
