काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीको खेलप्रतिको समर्पण, लगाव र मेहिनतको प्रतिफल भएको बताएका हुन् ।
सिंगापुरसँग भएको फाइनलमा एसफसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा बढाएको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले हामीले हाम्रा परम्परागत खेललाई पुरष्कृत, विकास र विस्तार गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा समावेश गराउन सके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गरे । उनले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक रहेको बताए ।
