काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१६ युथ लिग फुटबलको शुक्रबारदेखि आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम (टीडीएस) अन्तर्गत हुने लिग डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल सञ्चालन हुनेछ । युथ लिगमा ए डिभिजनका क्लबहरू नै सहभागी हुनेछन् ।
बी डिभिजनबाट ‘ए’ डिभिजनमा बढुवा भएका प्लानिङ ब्वाइज र श्री भगवती क्लबसहित आर्मी, संकटा, एपीएफ क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स, चर्च ब्वाइज, एनआरटी, मछिन्द्र, जावलाखेल युथ, सातदोबाटो युवा, हिलमायन शेर्पा र मनाङ मस्याङ्दी क्लब रहेका छन् । भगवती र मनाङ मर्स्याङ्दीबीच शुक्रबार पहिलो खेल हुनेछ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही १५ हजार दिइनेछ । फेयर प्ले टिमले १५ हजार प्राप्त गर्नेछ ।
सहभागी प्रत्येक टोलीलाई तयारी खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ दिइने एन्फाले जनाएको छ । प्रतियोगिताको अनुमानित कुल बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ रहेको र फिफाबाट ५० हजार डलर प्राप्त भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।
उनले यस लिगबाट भविष्यमा राष्ट्रिय टोलीका खेलाडी उत्पादन हुने विश्वास राखे । प्रतियोगिताका सबै खेलहरू एन्फा टिभी युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
