सबालेन्काको संघर्षपूर्ण जित

असार १९, २०८२

एएफपी

Sabalenka's hard-fought win

लन्डन — महिला विश्व नम्बर एक आर्यना सबालेन्का कठिन जित निकाल्दै तेस्रो चरणमा पुगेकी छन् । छैटौं वरीयताप्राप्त अस्ट्रेलियन ओपन च्याम्पियन म्याडिसन किज भने सर्बियाकी ओल्गा डानिलोभिकलाई ६–४, ६–२ ले हराएर अगाडि बढेकी छन् ।

बेलारुसकी सबालेन्काले अल इंग्ल्यान्ड क्लबमा बुधबार चेक गणतन्त्रकी मारी बोउज्कोभामाथि ७–६ (७/४), ६–४ को संघर्षपूर्ण नतिजा निकालेकी हुन् । तेस्रो चरणमा पुगेपछि उनले विम्बल्डनमा ‘अब कुनै अपसेट’ नहुने आशा व्यक्त गरेकी थिइन् । लगातारको मुसलधारे वर्षाको कारण खेल स्थगित भएको थियो । वर्षा रोकिएर घाम लागेपछि दोस्रो चरणका खेलहरू सुरु भएको थियो ।

दोस्रो वरीयताकी कोको गौफ, तेस्रो वरीयताप्राप्त जेसिका पेगुला र पाँचौं वरीयताकी झेङ किन्वेनसहित धेरै स्टारहरू पहिलो चरणबाटै बाहिरिएको स्थिति थियो । सेन्टर कोर्टमा बुधबारको पहिलो खेल खेल्नेक्रममा शीर्ष वरीयताप्राप्त सबालेन्काले बोउज्कोभासँग कडा टक्कर सामना गरिन् । ४८ औं वरीयताप्राप्त चेक प्रतिद्वन्द्वीले एक घण्टा ३५ मिनेटसम्म चलेको खेलमा सबालेन्काविरुद्ध चोटिलो प्रहारहरू गरेकी थिइन् । 

अस्ट्रेलियन र फ्रेन्च ओपनको फाइनलमा पीडादायी हार बेहोरेकी सबालेन्काले भनिन्, ‘इमान्दार भन्नुपर्दा, पहिलो राउन्डमा धेरै शीर्ष खेलाडीहरू हारेको देख्दा दुःखी भएँ, आफैंमा ध्यान केन्द्रित गर्नु र ती नतिजाबाट टाढा रहनु नै राम्रो हुन्छ । त्यस्तो अपसेट नतिजा नआओस् ।’

दोस्रो वरीयताकी गौफ गत महिना फ्रेन्च ओपन जितेपछि उच्च आशासहित अल इंग्ल्यान्ड क्लबमा आइपुगेकी थिइन् । तर, २१ वर्षीया उनी विश्व नम्बर ४२ औं स्थानकी युक्रेनी डायना यास्ट्रेम्स्कासँग ७–६ (७/३), ६–१ ले पराजित भइन् । दुई पटककी ग्रान्ड स्लाम च्याम्पियनले विम्बल्डनका लागि ग्रास–कोर्ट टेनिसमा उपाधि जित्न चाहेकी बताएकी छन् । 

पुरुषतर्फ तेस्रो वरीयताप्राप्त अलेक्जेन्डर ज्वारेभ पनि फ्रान्सेली विश्व नम्बर ७२ आर्थर रिन्डरक्नेचसँग ५ सेटमा पराजित भएका छन् । यस वर्ष अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका जर्मन खेलाडी म्याराथन प्रतिस्पर्धा गर्दै सन् २०१९ यता ग्रान्ड स्लाममा पहिलोपल्ट सुरुकै खेलमा पराजित भए ।

इतिहास बनाउने दौडमा रहेका नोभाक जोकोभिचले भने गतिलो प्रदर्शन गरिरहेका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले सेन्टर कोर्टमा मंगलबार अबेर सम्पन्न खेलमा जित हात पारे । कीर्तिमानी २५ औं ग्रान्ड स्लामको लक्ष्य रहेका उनले फ्रान्सेली विश्व नम्बर ४१ औ एलेक्जान्द्रे मुलरलाई ६–१, ६–७ (७/९), ६–२, ६–२ ले पराजित गरेका थिए । 

अनुभवी सर्बियन खेलाडीले संघर्ष गर्दै एक सेट गुमाए पनि जित निकाल्न सफल भए । सेन्टर कोर्टमा पहिलो सेटमा तीन पटक अग्रता लिएका जोकोभिचविरुद्ध मुलरले दोस्रो सेट टाइ–ब्रेकमा जितेर खेल बराबरी गरे । छैटौं वरीयताप्राप्त जोकोभिचले तेस्रो सेटमा सहजै अग्रता बनाएपछि खेलमा लय समातेका थिए । जोकोभिचले सन् २०२३ भित्रै २४ ग्रान्ड स्लाम एकल उपाधि जितिसकेका छन् । उनले मार्गरेट कोर्टसँग ग्रान्ड स्लाम जितमा बराबरी गरेका छन् । ऐतिहासिक २५ औं ग्रान्ड स्लाम जित अल इंग्ल्यान्ड क्लबमा हुने पर्खाइमा छन् जोकोभिच ।

पछिल्लो दुई विम्बल्डनको फाइनलमा स्पेनिस कार्लोस अल्काराजसँग पराजित भएका जोकोभिच अल इंग्ल्यान्ड क्लबका कीर्तिमानी आठपल्टका च्याम्पियन स्विस स्टार रोजर फेडेररसँग उपाधि बराबरी गर्न पनि व्यग्र छन् । ३८ वर्षे जोकोभिच २०१८ यताका हरेक विम्बल्डनको फाइनलमा पुगेका छन् । तर उनी अल्काराज र यानिक सिन्नरको सिकार बन्दै आएका छन् ।

महिलातर्फ पूर्व विश्व नम्बर एक बेलारुसकी भिक्टोरिया अजारेन्का रुसी खेलाडी अनास्टासिया जाखारोभासँग तीन सेट खेल्दै पहिलो खेलबाट लन्डन यात्रा टुंग्याएकी छन् ।

एएफपी

Link copied successfully