काठमाडौँ — महिला लिग च्याम्पियन नेपाल एपीएफ क्लबलाई एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणको ‘ड्र’ बाट समूह ‘बी’ मा परेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार भएको ‘ड्र’ मा १९ टिमलाई ५ समूहमा विभाजन गरिएको छ । चार समूहमा समान ४ र एक समूहमा तीन टिम परेका छन् ।
एपीएफ रहेको समूहमा साउदी अरेबियाको अल नासर क्लब, आयोजक उज्वेकिस्तानको पीएफसी नासाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स रहेका छन् ।
एसियन फुटबल महासंघ (एएफसी) ले समूह चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म आयोजना गर्नेछ ।
