काठमाडौँ — महिला फुटबल खेलाडीद्वय अञ्जली चन्द र सविना चौधरीले भुटानी क्लब थिम्पू सिटी एफसीसँग अनुबन्ध गरेका छन् ।
उनीहरू महिला यू–२० राष्ट्रिय टोलीका खेलाडी हुन् । दुवैले बीओबी भुटान महिला राष्ट्रिय लिग २०२५ मा प्रतिस्पर्धा गर्नेछन् । भुटानको शीर्ष क्लबमध्ये थिम्पु सिटी एक हो । उनीहरू अक्टोबर अन्त्यसम्म सम्झौतामा रहनेछन् ।
थिम्पू सिटी लिग तालिकामा चौथो स्थानमा छ । टोलीले सुरुका आफ्नो दुवै सुरु खेल जितेको छ । क्लबले दुवै खेलाडीलाई उनीहरूको व्यावसायिक सम्झौताको रूपमा राउन्ड–ट्रिप हवाई भाडा, पूर्ण आवास र मासिक तलब प्रदान गर्नेछ । वर्कपरमिट र भिसासहित सबै काम पूरा भइसकेको जनाइएको छ ।
अञ्जली मिडफिल्डर र विङ्रको रूपमा परिचित छिन् भने सविनाले राइट–ब्याक र डिफेन्डर भूमिकामा रहने छिन् ।
थिम्पु सिटीका मालिक हिशे छिरिङसँगको सम्बन्धका कारण खेलाडीको अनुबन्ध सम्भव भएको र यसले नेपाली खेलाडीलाई भुटानमा गएर व्यावसायिक फुटबल खेल्ने वातावरण बनेको स्वतन्त्र फुटलब एजेन्ट नवीन चित्रकारले बताए । उनले नेपाली महिला खेलाडीलाई विदेश पठाउने आफ्नो पहिलो कदम रहेको र उनीहरूको व्यावसायिक यात्रा सफल पार्न पाउँदा गर्व महसुस भएको बताए ।
