काठमाडौँ — नेपाली खेलाडी शिवाली गुरुङले ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम आईटीएफ/एटीएफअर्न्तगत टेनिस टु युरोपमा भाग लिने भएकी छन् ।
१४ वर्षमुनिको उमेर समूहमा शिवालीले फ्रान्समा जुलाई १४ देखि २० सम्म हुने ओपन स्टेट फ्राकाइस र २१ देखि २७ तारिख सम्म हुने टेनिस युरोप तथा जर्मनीमा जुलाई २८ देखि ३ अगस्टसम्म हुने इन्टरनेसनल र अगस्ट ४ देखि १० सम्म बेल्जियममा हुने योङ च्याम्पियनसिप कपमा भाग लिनेछन् । यस प्रकारको प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको उनका प्रशिक्षक प्रदीप खड्काले जानकारी गराएका छन् ।
एसियन च्याम्पियनसिपमा प्रथम भएर उनी १४ वर्षमुनिको उमेर समूहमा एसियामा चौथो वरीयतामा छिन । पहिलो पटक नेपालले जीएसपीडीपी/आईटीएप/एटीएफ युरोप कपमा भाग लिन लागेको हो ।
शिवालीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए ।
