लन्डन — विम्बल्डन टेनिसको महिलातर्फ बेलारुसकी सबालेन्काले पहिलो खेलमा क्यानेडियन छनोट खेलाडी कार्सन ब्रान्स्टाइनलाई ६–१, ७–५ ले पराजित गरेकी छन् ।
२७ वर्षीया सबालेन्का तीन पटककी ग्रान्ड स्लाम च्याम्पियन हुन् । तर अल इंग्ल्याण्ड क्लबमा उनी सेमिफाइनलभन्दा माथि पुग्न सकेकी छैनन् । महिलातर्फ शीर्ष वरीयताकी सबालेन्का जितसँगै दोस्रो चरणमा पुगेकी छन् ।
उनी यस वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको फाइनलमा भोगेको हारको पीडा कम गर्न खोजिरहेकी छन् । २४ वर्षीया क्यानेडियन खेलाडी पहिलो ग्रान्ड स्लाम मुख्य–ड्र खेलिरहेकी छन् । छनोटमा उनले फ्रेन्च ओपन सेमिफाइनल पुगेकी लुइस बोइसन र बियान्का एन्ड्रिस्कुमाथि महत्वपूर्ण जित पाएकी थिइन् । दोस्रो सेटमा खेल ५–५ को बराबरीमा हुँदै साबालेन्का अगाडि बढिन् ।
यूएस ओपनका पूर्व च्याम्पियन ड्यानिल मेदभेदेभले सोमबार विम्बल्डन टेनिसको पहिलो खेलमै पराजय भोगेका छन् । उनी फ्रान्सका बेन्जामिन बोन्जीसँग पराजित भए । पछिल्लो दुई वर्ष विम्बल्डनको सेमिफाइनलमा लगातार पुगेका रुसी खेलाडी मेदभेदेभको अल इंग्ल्यान्ड क्लबमा यसपल्टको प्रयास भने विश्व नम्बर ६४ मा रहेका बेन्जामिनले असफल बनाइदिए ।
बोन्जीले नवौं वरीयताप्राप्त मेदभेदेभलाई कोर्ट २ मा तीन घण्टा ७ मिनेटमा ७–६ (७/२), ३–६, ७–६ (७/३), ६–२ ले पराजित गरेका थिए । सातौं विम्बल्डन यात्रामा पहिलो पटक मेदभेदेभ सुरुआती राउन्ड पार गर्न असफल भएका छन् । ६ पटक ग्रान्ड स्लाम फाइनलमा पुगेका उनको मुख्य प्रतियोगितामा निराशा यात्रा छ । विम्बल्डनअघि उनले अस्ट्रेलियन ओपनको दोस्रो चरण र फ्रेन्च ओपनको पहिलो चरणमा हार बेहोरेका थिए ।
गत वर्ष विम्बल्डन क्वाटरफाइनलमा शीर्ष वरीयताप्राप्त जानिक सिन्नरलाई पराजित गरेका मेदभेदेभले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेजसँग हार सामना गरेका थिए ।
‘ग्रान्ड स्लाममा मेरो पहिलो शीर्ष १० खेलविरुद्धको जित हो, मलाई थाहा थियो कि यो कठिन खेल हुन्छ, तर कहिलेकाहीँ पहिलो राउन्डमा शीर्ष खेलाडीसँग खेल्नु र जित पाउनु आफैंमा ठूलो उपलब्धि हो,’ बोन्जीले भने, ‘ प्रतियोगिता सधैं विशेष हुन्छ, यो ठाउँ पनि मनपर्छ, त्यसैले यो धेरै विशेष छ ।’ यसैबीच पहिलो पटक विम्बल्डनको नेपाली टिभी च्यानल कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
