काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पछिल्लो विवादले फेरि एक पटक खेलाडीहरू मारमा पर्ने सम्भावनातर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली खेलकुदमा समय–समयमा देखिने संस्थागत र नेतृत्वगत विवादको प्रत्यक्ष असर खेलाडीमाथि पर्ने गरेको यथार्थलाई संघले पटक–पटक औंल्याउँदै आएको जनाउँदै संघले विज्ञप्तिमार्फत भनेको छ, ‘अहिले उत्पन्न परिस्थितिले फेरि एक पटक खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको छ ।’
खेलाडी नै मर्कामा पर्दा खेलकुद नेतृत्व गरिरहेका संस्था र पदाधिकारीहरूको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने अवस्था सिर्जना गरिरहेको संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।
खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता निश्चित गर्नु सबै पक्षको साझा दायित्व हो भन्नेमा दृढ रहेको र पछिल्लो घटनाक्रमले २० औं एसियाली खेलकुदलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन नपाउने खतरा बढ्नु नेपाली खेलकुदकै लागि दुर्भाग्यपूर्ण हुने विज्ञप्तिमा जनाइएको छ ।
सबै सरोकारवाला युवा तथा खेलकुद मन्त्रालय, राखेप, एनओसी र राष्ट्रिय संघहरूलाई आ–आफ्नो जिम्मेवारी बोध गर्दै खेलाडीको सहभागिता निश्चित गर्ने वातावरण तत्काल निर्माण गर्न आग्रह संघले आग्रह गरेको छ ।
