काठमाडौँ — अल्ट्रा धाविका रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । रसिलाले म्यानमारमा भएको ५० किमि दुरीको ट्रेल रनमापुरुष धावकलाई समेत पछाडि पारेर ओभरअलमै उपाधि जितेकी हुन् ।
सन् २०२३ मा भएको एसिया ट्रेल मास्टर्स महिला च्याम्पियनसिपमा विजेता भएकी रसिलाले ६ घन्टा १८ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । उनले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्याम्पर पाएकी छन् । सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले ७ घन्टा ३८ मिनेट ४२ सेकेन्डको टाइमिङ लिएका थिए ।
महिलातर्फ दोस्रो हुने यियीले ९ घन्टा ९ मिनेटमा दौड पुरा गरिन् । साराह सेङ तेस्रो भइन् । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे । यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटीएम च्याम्पियनसिप फाइनल चरणलाई छनोट भएकी छन् । रसिलाले ओभरअलमै जित प्राप्त गर्दा औधी खुसी लागेको बताएकी छन् ।
