काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले सोमबार खेलाडी, प्रशिक्षक, निर्णायकलाई राष्ट्रिय खेलकुद सम्मान २०८२ प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक गरी ९ व्यक्तित्व सम्मानित भएका छन् । उनीहरूलाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । कबड्डीका मानमती विष्ट र अनुजाकुलुङ राई, तेक्वान्दोका प्रेमबहादुर लिम्बू र वीरबहादुर महरा, फुटबलकी दीपा शाही, पारा तेक्वान्दोका भरतसिंह महता रहेका छन् ।
प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, चिकित्सक डा. राजु डंगोल महर्जन र निर्णायकमा बक्सिङका धनकुमार मैनाली रहेका छन् ।
त्यस्तै खेलकुद पत्रकारिता पुरस्कारबाट खेल पत्रकार श्रीलोचन राजोपाध्याय (नयाँ पत्रिका) सम्मान प्रदान गरिएको छ । उक्त सम्मानको राशि ५० हजार रुपैयाँ रहेको छ । खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारअन्तर्गत विभिन्न प्रदेशका ९ पत्रकारलाई जनही २५ हजारसहित सम्मान गरियो ।
त्यसमा कान्तिपुर दैनिककी नेपालगन्ज संवाददाता रुपा गहतराज (समावेशी) सहित मुकुन्द घिमिरे (कोशी), शरदचन्द्र भट्टराई (मधेश), विक्रमकुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), स्वस्तिक श्रेष्ठ (लुम्बिनी), दिनेशकुमार बुढा (कर्णाली), दिनेशबहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) रहेका छन् ।
