काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आईटीसुत्र इन्कको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
अमेरिकामा मुख्यालय रहेको र ११ वर्षदेखि प्रविधि क्षेत्रमा आबद्ध आईटी कन्सल्टिङ कम्पनी, आईटीसुत्रले किरणलाई ३ वर्षका लागि सोमबार ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।
सम्झौता ३० लाख रुपैयाँबराबरको रहेको उल्लेख गर्दै आईटीसुत्रले यो सम्झौताबाट प्रविधि र खेलकुद क्षेत्रलाई जोड्ने अपेक्षा रहेको जनाएको छ ।
कम्पनीको मुख्य उद्देश्य नेपाली प्राविधिक क्षमतालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु रहेकाले किरणको प्रतिबद्धता, अनुशासन र अन्तर्राष्ट्रिय छविले कम्पनीको मिसनलाई थप बल पुर्याउने विश्वास लिइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पंकज श्रेष्ठले सहकार्यबारे भने, ‘किरण चेम्जोङ खेलकुदको मैदानमा मात्रै होइन, हरेक नेपाली युवाको प्रेरणाका स्रोत हुन् । उनको अटल समर्पण र विश्वास कम्पनीको मूल्य-मान्यतासँग मेल खान्छ । यो केबल एउटा व्यावसायिक सम्झौता मात्र नभई नेपाली प्रतिभालाई प्रविधि र खेलकुद दुवै क्षेत्रमा अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धता पनि हो ।’
सीईओ श्रेष्ठले यो साझेदारीमार्फत आईटीसुत्रको ब्रान्ड अभियान, युवालक्षित तालिम कार्यक्रम, डिजिटल प्रस्तुति र सामाजिक पहलमा किरणको सक्रिय भूमिका रहने बताए ।
आईटीसुत्र अमेरिकाको टेक्सासमा मुख्यालय रहेको आईटी परामर्श र स्टाफिङ कम्पनी हो । कम्पनीको सफलताको प्रमुख आधार अमेरिकाका प्रतिष्ठित कम्पनीमा १२ सयभन्दा धेरै नेपाली प्राविधिकलाई अवसर प्रदान गर्नु रहेको विज्ञप्तीमा उल्लेख छ ।
किरण हाल अमेरिका भ्रमणमा छन् । डेढ दशकयता राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्दै आएका उनी राष्ट्रिय टोलीबाट १ सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले भारत र माल्दिभ्सबाट व्यावसायिक फुटबल खेलेका छन् । घरेलु फुटबलमा उनले थ्रीस्टार, मछिन्द्र क्लबको प्रतिनिधित्व गरेका छन् ।
