सियाटल — ड्यानियल स्भेन्सनले पहिलो हाफमा गरेको एकमात्र गोलको मदतमा बोरुसिया डर्टमन्डले फिफा विश्वकप फुटबलमा बिहीबार उल्सन हुन्डाईलाई १–० ले पराजित गरेको छ । यस जितसँगै जर्मन टिम समूह ‘जी’ को विजेता बनेर अन्तिम १६ मा पुगेको छ ।
समूह ‘ई’ मा इन्टर मिलानले रिभर प्लेटलाई २–० ले हरायो । यसले समूहमा पहिलो हुँदै इन्टर नकआउट चरण पुग्यो । युरोपेली च्याम्पियन्स लिगको उपविजेता इन्टरका लागि फ्रान्सिस्को इस्पोसोटी र एलसान्ड्रो बास्टोनीले गोल गरेका थिए । खेलको अन्त्यमा रिभर प्लेट ९ खेलाडीमा सीमित बनेको थियो । टोलीका लुकास मार्टिनेज र गोन्जालो मोन्टियल रातो कार्ड पाएर मैदान छाड्न बाध्य रहे । सोही समूहको अर्को खेलमा उरवा रेड डायमन्सलाई ४–० ले हराएर मोन्टेरी पनि अर्को चरण पुग्न सफल रह्यो ।
इन्टर ७ अंकमा रह्यो भने मेक्सिकोको मोन्टेरीको ५ अंक भयो । अर्जेन्टिनी रिभर प्लेट ४ अंकमै सीमित रह्यो । उरवा रेड डायमन्सले कुनै पनि अंक बटुल्न सकेन र तीनै खेलमा हार आत्मसात् गर्यो । डर्टमन्डको लगातार दोस्रो जितपछि ३ खेलबाट ७ अंक भएको छ ।
स्लेभन्सले ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । फ्लुमिनेस भने ६ अंकसहित दोस्रो स्थानमा रह्यो । टोलीले पनि नकआउट चरणको यात्रा निश्चित गर्यो । टोलीले सनडाउन्सलाई गोलरहित बराबरीमा रोकेको थियो । सनडाउन्सलाई भाग्यले साथ दिएन । टोली ४ अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
दक्षिण कोरियाली क्लब उल्सन भने अंकविहीन अवस्थामै रह्यो र टोलीले लिग चरणका सबै खेलमा हार सामना गर्यो । अब इन्टरले अर्को चरण प्रवेश गर्न फ्लुमिनेसको सामना गर्नेछ । डर्टमन्डले भने मोन्टेरीसँग खेल्नेछ ।
