पहिलो टेस्टमा ५ शतक बनाए पनि भारतले जित हात पार्न सकेन
लिड्स — बेन डकेटको उत्कृष्ट १ सय ४९ रनको मदतमा इंग्ल्यान्डले भारतलाई पहिलो टेस्टमा मंगलबार ५ विकेटले हराएको छ । हेडिङ्लेमा भएको टेस्टको पाँचौं दिनको अन्तिम सत्र इंग्ल्यान्ड यस ऐतिहासिक र नाटकीय जित हात पार्न सफल भयो ।
जितका लागि ३ सय ७१ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ५ विकेटमा ३ सय ७३ रन बनाएको थियो ।
यो जितसँगै इंग्ल्यान्डले ५ टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । इंग्ल्यान्डले विना कुनै विकेट क्षति २१ रनबाट दिनको खेल सुरु गरेको थियो । डकेटले पहिलो विकेटका लागि ६५ रन बनाएका ज्याक क्राउलीसँग १ सय ८८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।
जेमी स्मिथ ४४ रन बनाएर नटआउट रहे । उनले नै छक्का प्रहार गर्दै विजयी रन बटुले । जो रुट ५३ रनमा नटआउट रहे । साँच्चै यो टेस्ट आफैंमा कस्तो रह्यो त ? एएफपीले तयार पारेका तीन विशेषता यस्ता छन् :
पाँच शतक तर हार
क्रिकेटको पूरा इतिहासमै ६० हजारभन्दा बढी पहिलो श्रेणीका खेल भएको छ । भारत नै पहिलो त्यस्तो टिम रह्यो, जसले एउटै खेलमा ५ शतक त बनायो, तर हार्ने टिम बन्यो । भारतले आफ्नो दुवै इनिङ्समा सुरुमा रन त राम्रैसँग बनायो, तर उसको तल्लोक्रम भने चल्न सकेन । पहिलो इनिङ्समा भारतले ४१ रनमा ७ विकेट र दोस्रोमा ३१ रनमा ६ विकेट गुमाएको थियो ।
भारतका पुछारका ब्याटरलाई आउट पार्नमा इंग्लिस तीव्र गतिका बलर जोस टङ्गले प्रमुख भूमिका खेले । अधिकांश तल्लो क्रमका भारतीय ब्याटर उनकै सिकार बने । पछि टङ्गले भने, ‘मलाई तल्लोक्रमका ब्याटरविरुद्ध बलिङ गर्दा मज्जा लाग्छ । यो स्थितिमा विकेटको सम्भावना बढी हुन्छ । सबैभन्दा ठूलो बलर आक्रामक हुनुपर्छ ।’
ऋषभको चमत्कार
ऋषभ पन्तको प्रदर्शन त चमत्मकारीपूर्ण नै रह्यो भन्दा हुन्छ । अब उनीसामु अस्ट्रेलियाका एडम गिलक्रिस्टभन्दा राम्रो विकेटकिपर/ब्याटर हुने अवसर छ । भारतको दुवै इनिङ्समा उनले यसपल्ट शतक बनाए । सुरुमा १ सय ३४ बनाए, त्यसपछि १ सय १८ । यसक्रममा उनी जिम्बावेका एन्डी फ्लावरपछि दुवै इनिङ्समा शतक बनाउने पहिलो विकेटकिपर बने । उनको अधिकांश प्रहार फेरि पारम्परिक पनि थिएनन् ।
अझ सबैभन्दा उल्लेखनीय तथ्य त के भने उनलाई अहिलेको उपलब्धि त्यतिबेला प्राप्त भएको छ, सन् २०२२ मा जतिबेला भयानक दुर्घटनापछि उनलाई भनिएको थियो, यी खेलाडी अब फेरि खेल्ने छैनन् । उनी १५ महिना त सक्रिय क्रिकेटबाट टाढा नै रहेका थिए ।
जे हुन्छ, हेडिङ्लेमै हुन्छ
हेडिङ्लेको विशेषता नै हो । यहाँ जति पनि टेस्ट हुन्छ, ती अधिकांश अद्वितीय हुन्छन् । यहाँ धेरै चमत्कारी टेस्ट हेर्न पाइएको छ । सन् १९८१ मा इंग्ल्यान्ड अस्ट्रेलियाविरुद्ध फलोअनमा परेको थियो, तर त्यही टिम विजयी रह्यो । कारण थियो, इयान बोथामको १ सय ४९ नटआउट । अनि तीव्र गतिका बलर बल विल्सको ४३ रनमा ८ विकेटको प्रदर्शन । त्यसलाई अझै पनि ‘हेडिङ्ले म्याजिक’ भनिन्छ ।
सन् २०१९ मा अहिलेका इंग्लिस कप्तान बेन स्टोक्सले यस्तै इनिङ्स खेले । उनको नटआउट शतकीय इनिङ्स मदतमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि सनसनीपूर्ण एक विकेटको जित पाएको थियो । त्यस्ता धेरै खेल यस मैदानमा भएका छन् । अहिलेको इंग्ल्यान्डको जित पनि आफैंमा उत्तिकै अभूतपूर्व रहेको छ । त्यसैले भन्न सकिन्छ, जे हुन्छ हेडिङ्लेमै हुन्छ ।
