चेल्सीको प्रतिद्वन्द्वी बेन्फिका

असार १२, २०८२

एएफपी

Chelsea rivals Benfica

फिलाडेल्फिया — चेल्सीले मंगलबार ट्युनिसियाको इस्पेरेन्सलाई ३–० ले हराएर फिफा क्लब विश्वकपको समूह ‘डी’ बाट नकआउट चरणको यात्रा गरेको छ ।

चेल्सीले अब अन्तिम १६ मा बेन्फिकाको सामना गर्नेछ । पोर्चुगलको बेन्फिकाले भने बायर्न म्युनिखलाई १–० ले पराजित गर्दै यो चरणको यात्रा निश्चित गरेको हो । यो जितसँगै बेन्फिकाले समूह ‘सी’ पनि जितेको छ । 

टोलीको ३ खेलबाट ७ अंक भएको छ । बायर्न भने ६ अंकसहित दोस्रो स्थानमा रह्यो । बेन्फिकाको हातबाट प्रतिस्पर्धात्मक खेलमा बायर्न पराजित भएको यो नै पहिलो पटक हो । यो खेलअघि नै बायर्न नकआउट चरण प्रवेश निश्चित भइसकेको थियो । त्यसैले प्रशिक्षक भिन्सेन्ट कोम्पनीले खेलमा आफ्नो दोस्रो रोजाइका खेलाडी उतारेका थिए । खेलको निर्णायक गोल भने आन्द्रेस सेजेडेरुपको नाममा रह्यो । 

यही समूहको अर्को खेलमा अकल्यान्ड सिटीले बोका जुनियर्सलाई १–१ को बराबरीमा रोक्यो । यो नतिजासँगै बोका जुनियर्स प्रतियोगिताबाट बाहिरिएको छ । बेन्फिकाका प्रशिक्षक ब्रुनो लागे भने आफ्नो टिमको प्रदर्शनमा स्वाभाविक रूपमा खुसी रहे । उनले भने, ‘यो जितलाई क्लब इतिहासमै ऐतिहासिक भन्दा हुन्छ । हामी विजयी रह्यौं, किनभने हाम्रो रणनीति सफल रह्यो ।’

बायर्नले भने अब ब्राजिलको फ्लेमिङ्गोको सामना गर्नेछ । ब्राजिली जायन्ट्स फ्लेमिङ्गोले भने समूह ‘डी’ कै खेलमा लस एन्जलस एफसीसँग १–१ को बराबरी खेल्यो । यो नतिजापछि फ्लेमिङ्गो ३ खेलबाट ६ अंकमा समूहको शीर्षस्थानमा रह्यो भने चेल्सीको ६ अंक भयो । इस्पेरेन्स भने २ अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो । पुछारको लस एन्जलसले एक अंकमात्र बटुल्न सक्यो । 

चेल्सीको जितमा भने टोसिन एडाराबिओयोले पहिलो हाफको अन्त्यतिर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लगत्तै लियाम डेलापले दोस्रो गोल थपे । तेस्रो गोल भने ट्रिक्वे जर्जको नाममा रह्यो । प्रशिक्षक इन्जो मारेस्काले खेलपछि भने, ‘अब हाम्रो लक्ष्य भनेको अन्तिम आठ हुनुपर्छ । बेन्फिका निकै बलियो प्रतिद्वन्द्वी हो । त्यसैले खेल निकै गाह्रो हुनेछ ।’

आफ्ना नयाँ खेलाडी डेलापको प्रशंसा गर्दै उनले थपे, ‘हामीलाई उनको उपयोगितामा कुनै शंका छैन । हामीलाई के थाहा थियो भने उनले कुनै न कुनै बेला गोल गर्नेछन् भनेर ।’ सन् २०१३ यता पहिलो पटक चेल्सी र बेन्फिका भिड्दै छन् । त्यतिबेला युरोपा लिग फाइनलमा चेल्सी विजयी भएको थियो ।

एएफपी

Link copied successfully