मेसीले पीएसजीविरुद्ध खेल्ने

असार ११, २०८२

एएफपी

Messi will play against PSG

सियाटल — लियोनल मेसीले फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा आफ्नो पूर्वक्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्ने भएका छन् । मेसी सन् २०२३ मा युरोपेली च्याम्पियन फ्रान्सेली क्लब छाडेर नै इन्टर मियामी गएका हुन् ।

अब यिनै दुई क्लब नटआउट चरणमा भिड्ने छन् । यो हेर्नलायक खेल हुनेछ । समीकरण तयार भएको अर्को नकआउट चरणको खेलमा दुई ब्राजिली क्लब आमनेसामने हुने भएको छ । यी छन् पाल्मेरिया र बोटाफोगो । 

ख्विचा क्वारत्सखेलिया र अचरफ हकिमीको गोल मदतमा पीएसजीले सियाटल सन्डर्सलाई मंगलबार २–० ले पराजित गरेको थियो । युरोपेली च्याम्पियन पीएसजी गोल अन्तरका आधारमा समूह ‘बी’ जित्दै अन्तिम १६ पुगेको छ ।

हारे पनि बोटाफोगो पनि नकआउट चरण पुगेको हो । यसअघिको खेलमा बोटाफोगोको हातबाट पराजित भएपछि पीएसजीलाई यो खेल जित्नुपर्ने थियो । यस्तोमा क्वारत्सखेलियाले पहिलो हाफमा गोलको खाता खोलेपछि हकिमीले दोस्रो हाफमा दोस्रो गोल थपे । 

जितपछि प्रशिक्षक लुइस एनरिकेले प्रतियोगिताको वास्तविक यात्रा अब सुरु हुने बताए । उनले भने, ‘मलाई लाग्छ, प्रतियोगिताको वास्तविक सुरु अब हुन्छ । हाम्रो लागि यसपल्टको सिजन राम्रो रहेको छ र हामी यसलाई क्लब वर्ल्डकपमा कायम राख्न चाहन्छौं । यसो भन्दैमा अबको यात्रा सजिलो हुने छैन । अबदेखि हामीले आफ्नो अगाडि रहेको खेललाई ध्यानमा राखेर खेल्नेछौं र त्यसपछि के हुने हो अनि मात्र विश्लेषण गर्नेछौं ।’ 

समूहको अर्को खेलमा बोटाफोगो भने एट्लेटिको म्याड्रिडको हातबाट १–० ले पराजित रह्यो । तर एटलेटिकोका लागि यो जित अगाडि बढ्न पर्याप्त रहेन । समूहको दोस्रो स्थानमा रहेर बोटाफोगो अर्को चरण पुगेको हो । पीएसजी, बोटाफोगो र एट्लेटिको तीनै टिम समान ६ अंकमा रहे । गोल अन्तरका आधारमा एट्लेटिको तेस्रो स्थानमा रह्यो र टोलीलाई भाग्यले साथ दिएन । स्पेनी क्लबका लागि एकमात्र गोल एन्टोनियो ग्रिजमनले गरेका थिए । 

‘हामी असाध्यै निराश छौं, किनभने ६ अंकमा पनि छनोट हुन असफल रह्यौं । तर, हामीले पर्याप्त गोल गर्न सकेनौं, त्यसैले त्यसको सजाय पनि पायौं । टिमको प्रदर्शनमा भने हामीलाई गर्व नै छ । एउटै गुनासो भनेको हामीलाई भाग्यले साथ भने दिएन,’ एट्लेटिको प्रशिक्षक डिएगो सिमोनीले भने । दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोका लागि भने समूह चरणको खेलमा पीएसजीमाथि प्राप्त जित सबैभन्दा महत्त्वपूर्ण रह्यो । यही एक नतिजाले टोलीलाई अर्को चरण पुर्‍याउन सहयोग गरेको थियो । 

एट्लेटिकोले ठूलो अन्तरको जितका लागि आक्रामक खेल्दा बोटाफोगोले चलाखीपूर्ण रक्षात्मक भएर खेलेको थियो । समूह ‘ए’ को मंगलबारको खेलमा मियामी र पाल्मेरसले २–२ को बराबरी खेले र दुवै अगाडि बढ्न सफल रहे । टेडोओ एलेन्डे र लुइस स्वारेजको गोल मदतमा मियामीले सुरुमै २–० को अग्रता लिएको थियो । तर ब्राजिली टिमले अन्तिम १० मिनेटमा सनसनीपूर्ण ढंगले २ गोल फर्काएको थियो । त्यो पाउलिन्हो र माउरिसियोको नाममा रह्यो । 

त्यसमध्ये माउरिसियोले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् । यो नतिजापछि दुवै टिम समान ५ अंकमा रहे । पाल्मेरस गोलअन्तरले समूहको शीर्षस्थानमा रह्यो भने मियामी दोस्रोमा । यसको अर्थ यो समूहबाट इजिप्टको अल अहली र पोर्चुगलको एफसी पोर्टो दुवै प्रतियोगिताबाट बाहिरिएका छन् । लिग चरणको आ–आफ्नो अन्तिम खेलमा दुवैले ४–४ को रोमाञ्चक बराबरी खेले । दुवै टिम २–१ अंकमै सीमित रहेको थियो ।

एएफपी

Link copied successfully