लुसान (एपी) — अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको पहिलो महिला अध्यक्ष रूपमा अफ्रिकाकी क्रिस्टी कोभेन्ट्रीले सोमबारदेखि आफ्नो कार्यकाल सुरु गरेकी छन् । ओलम्पिक कमिटीको १ सय ३१ औं स्थापना दिवसको अवसरमा ओलम्पिक मुभमेन्ट महिलाको हातमा गएको हो ।
यसलाई महिला अध्यक्षको हातमा सुरक्षित ओलम्पिकको रूपमा व्याख्या गरिएको छ ।
कोभेन्ट्री आफैंमा दुईपल्टकी ओलम्पिक च्याम्पियन हुन् । उनले यो सफलता जिम्बावेको प्रतिनिनित्व गर्दै पाएकी थिइन् । औपचारिक रूपमा आफ्नो कार्यकाल भने उनले मंगलबार सुरु गर्नेछिन् । उनी ४१ वर्षकी मात्र भइन् । मार्चमा भएको निर्वाचनमा उनले आफ्ना ६ प्रतिद्वन्द्वीलाई हराएर अहिलेका अध्यक्ष थोमस बाखको स्थान लिने भएकी हुन् ।
उनका दुई छोरी छन् । तिनीहरूलाई उनी आफ्नो प्रेरणास्रोत मात्र मान्दैनन्, आफ्नो लागि कडाभन्दा कडा अवस्था सजिलै सामना गर्ने उत्साह पनि मान्छिन् । कोभेन्ट्रीले अब ८ वर्षका लागि अनतर्राष्ट्रिय ओलम्पिक कमिटीको नेतृत्व सम्हाल्ने छन् । यसबीच पर्नेछ, सन् २०२८ को एस एन्जलस ओलम्पिक ।
उनी आफ्नी ६ वर्षीया छोरी एलालाई देखाउँदै भन्छिन्, ‘छोरीले मलाई प्रत्येक दिन सम्झाउने गर्छिन्, मैले सबै काम किन गरिरहेकी छु भनेर । हामीले ओलम्पिक आन्दोलनलाई नयाँ रूप दिनु छ । हामीलाई परिवर्तन आवश्यक छ । मलाई मेरी छोरीले यो काम गर्न सधैं सम्झाइरहने छिन् ।’ उनले ओलम्पिकलाई आशा र परिवर्तनको वाहक रहेको बताइन् ।
अध्यक्ष बाख आफ्नो पद छाड्ने क्रममा निकै भावुक भए । अनि उनले ओलम्पिक अझ बढी सुरक्षित हातमा गएको पनि दाबी गरे । कोभेन्ट्री बाखकै रोजाइका रूपमा अध्यक्ष पद जित्न सफल रहेकी हुन् । जर्मनीका ७१ वर्षीय वकिल बाखले सन् १९७६ मा फेन्सिङमा स्वर्ण पदक समेत जितेका थिए । ‘म आफ्नो हृदयदेखि भन्छु, ओलम्पिक आन्दोलनको भविष्य सुन्दर र सुरक्षित छ,’ उनले थपे ।
