‘नेपालले सपना देख्न छाड्न हुन्न’

एसियन कप फुटबल छनोट प्रतियोगिता खेल्ने नेपाली महिला फुटबल टोली मंगलबार उज्वेकिस्तान यात्रामा निस्कँदै

असार १०, २०८२

कान्तिपुर संवाददाता

”Nepal must not stop dreaming”

काठमाडौँ — आफ्नो पहिलो प्रेस मिटमा नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको भनाइ थियो, ‘मलाई आफ्ना खेलाडीबारे केही पनि थाहा छैन ।’ त्यसको अर्थ थियो, नेपाली खेलाडी कस्ता छन्, त्यसबारे उनी अनभिज्ञ छन् । तर त्यसको दुई सातापछि उनी असाध्यै आत्मविश्वासी देखिए र आफ्ना खेलाडीलाई लिएर खुसी छन् । 

नेपाली महिला फुटबल टोली मंगलबार उज्वेकिस्तान यात्रामा निस्कँदै छ । त्यहाँ नेपालले खेल्नेछ महिला एसियन कप छनोट । नेपाली महिला फुटबल इतिहासमै सम्भवतः यो जत्तिको महत्त्वपूर्ण प्रतियोगिता अरू हुने छैन । नेपालले छनोटको समूह ‘एफ’ खेल्नेछ । त्यहाँ नेपालको प्रतिद्वन्द्वी हुनेछ, लाओस, श्रीलंका र आयोजक देश उज्वेकिस्तान । त्यो समूह जित्नुको अर्थ हुनेछ, अर्को वर्ष अस्ट्रेलियामा हुनेछ एसियन कपमा सिधा प्रवेश । 

‘मैले दुई दशकभन्दा बढी समय प्रशिक्षकका रूपमा बिताइसकें । यहाँ मैले महिला फुटबलको जुन रूप देखें, त्यसबाट असाध्यै प्रभावित रहें । यो मेरो लागि असाध्यै धेरै खुसीको अनुभव रह्यो,’ प्रशिक्षक डे वाइल्डले भने । त्यसो भए नेपाली टिमलाई लिएर उनको धारणा के छ त ? उनी भन्छन्, ‘छनोटमा नेपालको सम्भावनालाई लिएर सकारात्मक रहनुपर्छ ।’

उनी थप्छन्, ‘नेपालले आफ्नो अन्तिम खेलमा सामना गर्ने भनेको उज्वेकिस्तानकै हो । त्यसअघि हाम्रो ध्यान लाओस र श्रीलंकाविरुद्धको खेलमा हुनुपर्छ । हामीले सपना देख्न छाड्नुहुन्न । तर सपना त्यसै पनि पूरा हुन्न, यसका लागि कडा मिहिनेत गर्नुपर्ने हुन्छ ।’ नेपाली टिमका लागि प्रतियोगितामा मुख्य खेलाडी फेरि एकपल्ट अरू कोही होइनन्, सावित्रा भण्डारी नै हुनेछन् । 

सावित्रा के भन्छिन् त ? उनको भनाइ छ, ‘पक्कै पनि हाम्रो प्रमुख प्रतिद्वन्द्वी उज्वेकिस्तान नै हो । पछिल्लो समय श्रीलंकाले पनि राम्रो खेल्न थालेको छ र हामीलाई दुःख दिने काम पनि गरेको छ । त्यसैले हाम्रा लागि प्रत्येक खेल उत्तिकै महत्त्वपूर्ण हुनेछ । मेरो विचारमा छनोटमा सहभागी भएको प्रत्येक टिम आ–आफ्नो स्थानमा बलियो नै छन् ।’

सावित्रा थप्छिन्, ‘हामीले अहिलेका विदेशी प्रशिक्षक यसअघि नै पाएको भए अझ राम्रो हुन्थ्यो । सुरुमा हामीबीच भाषाको समस्या थियो, तर अब त्यो पनि रहेन । प्रशिक्षकले हामी सबैलाई उत्प्रेरित रहन प्रोत्साहन गरिरहनुभएको छ । यसले हाम्रो प्रदर्शनमा पक्कै पनि सुधार आउने अपेक्षा गर्न सकिन्छ । अहिलेसम्मको प्रशिक्षणका क्रममा हामीले सकारात्मक सुधार अनुभव गरेका छौं ।’ 

अरू धेरैलाई अचम्म पार्न सक्ने एउटा तथ्य पनि उनी खुलाउन चाहन्छिन् । उनी भन्छिन्, ‘अहिलेको प्रशिक्षण निकै कडा रहेको छ र यसैको आधारमा टिमको छनोट हुनेछ । मलाई लाग्छ, म आफैं पनि पहिलो रोजाइको खेलाडीमा नपर्न सक्छु ।’ यसको अर्थ हो, अहिले नेपाली टिमको पहिलो रोजाइको खेलाडी हुन चर्को प्रतिस्पर्धा छ र यो नेपाली महिला फुटबलका लागि राम्रो संकेत हो । 

नेपालले जुन २९ मा हुने पहिलो खेलमा लाओसको सामाना गर्नेछ । यो संयोगले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक र कोसेढुंगा साबित सय खेल हुनेछ । नेपाली खेलाडीहरू यही एक उपलब्धिका लागि पनि राम्रो प्रदर्शन गर्न उत्साही छन् । नेपाली टोलीकी कप्तान एन्जिला सुब्बा भन्छिन्, ‘हाम्रा लागि सयौं खेल खेल्नु ऐतिहासिक अवसर हो ।’ 

युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले उच्च सफलताको कामना गर्दै टोलीलाई बिदाइ गरेका थिए । सचिव लम्सालले सीमित स्रोत र साधनका बावजुद महिला खेलाडीले राम्रो प्रदर्शन गरिरहेको स्मरण गर्दै यसपालि अझै उच्च प्रदर्शन गरेर राष्ट्रको झन्डा फहराउन शुभकामना दिए । 

एन्फा अध्यक्ष नेम्वाङले महिला टोलीको यसपल्टको यात्राबाट अझ बढी अपेक्षा गरिएको बताए । उनले भने, ‘युरोपका लिगहरूको अनुभव लिएका खेलाडीहरू पनि हामीसँग टोलीमा छ अनि युरोपका अनुभवी प्रशिक्षक टोलीसँग छ । त्यसले गर्दा यसपालि हामीले धेरै नै अपेक्षा गरेका छौं । त्यसमा तपाईंहरू सफल हुनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।’

नेपाली टोलीको गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर, डिफेन्डरमा गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, बिमला बिक, पूजा राना, अमृता जैसी छन् । त्यस्तै मिडफिल्डरमा रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, विमला चौधरी, अनिता बस्नेत, सरस्वती हमाल तथा फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसी रहेका छन् । 

सहायक प्रशिक्षकमा राजेन्द्र तामाङ र भगवती थापा, गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा, टिम म्यानेजरमा बिन्द्रा देवान, टिम चिकित्सकमा डा. अलिशा राई, फिजियोमा शिला गिरी र किट म्यानेजरमा विकास गुरुङ रहेका छन् ।

कान्तिपुर

Link copied successfully