मकवानपुर — नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र न्यु डायमण्ड क्लब भिड्ने भएका छन् ।
हेटौंडा–४ स्थित हुप्रचौर कोर्टमा मंगलबार बिहान भएको सेमिफाइनलमा सहजै जित हात पार्दै एपीएफ र डायमण्डले फाइनलको यात्रा तय गरेका हुन् । दुवै टोली उद्घाटन खेलमा भिडेका थिए । जुन खेलमा डायमण्ड विजयी भएको थियो ।
सेमिफाइनलमा एपीएफले नेपाल प्रहरी र डायमण्डले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एपीएफले पुलिसलाई २५–२१, २५–१८ र २५–२१ को सेटमा पराजित गरेको थियो । डायमण्डले गण्डकीलाई २५–१५, २५–११ र २५–१६ को सेटमा पराजित गरेको हो ।
समूह ‘क’ बाट विजेताको रुपमा पुलिस र उपविजेताको रुपमा गण्डकीले नकाउट चरणमा प्रवेश गरेका थिए । समूह ‘ख’बाट डाइमण्ड विजेता बन्दा एपीएफले उपविजेताको रुपमा अगाडि बढ्न बाध्य भएको थियो ।
प्रतियोगिताका दुवै सेमिफाइनल खेल बुधबार हुनेछन् । ६ टोलीको सहभागी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँसहित ट्रफी जित्नेछन् ।
