काठमाडौँ — मनास्लुले ब्वाइज र वारियर्सले गर्ल्समा एसडब्लूएससी एसईई थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लूएससी) को कोर्टमा मंगलबार ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८–१७ स्कोरले हरायो । गर्ल्सको फाइनलमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ स्कोरले हरायो ।
दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गरे । विजेता टोलीका प्रत्येक खेलाडी र मोस्ट भ्यालुएबल प्लेयरले ५० प्रतिशत छात्रवृत्ति पनि पाउनेछन् । उपविजेतालाई ४० प्रतिशत र सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
तीनदिनको अवधिमा मनास्लु र वारियर्सको यो दोस्रो उपाधि हो । दुवैले आइतबार प्रथम एलएनए कपमा उपाधि जितेका थिए ।
ब्वाइजमा मनास्लुका शुभम सैंजु र गर्ल्समा वारियर्सकी दिव्यान्शा कार्की मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । विजेतालाई एसडब्लुएससीका क्याम्पस चिफ राजेन्द्र केसी, भाइस प्रिन्सिपल हरिसिंह केसीलगायतले पुरस्कृत गरे ।
