गण्डकी प्रदेश सेमिफाइनलमा

असार ९, २०८२

कान्तिपुर संवाददाता

Gandaki Pradesh in the semi-finals

मकवानपुर — हेटौंडामा भइरहेको राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगितामा एपीएफ क्लब र गण्डकी प्रदेश विजयी भएको छ । एपीएफले मधेश प्रदेशलाई २५–८, २५–११, २५–७ को सोझो सेटमा पराजित गरेको छ । अनुभवी र केही राष्ट्रिय खेलाडीले भरिएको एपीएफसँग मधेशको खेल बनेको थियो ।

समूह ‘ख’ मा रहेको एपीएफ पहिलो खेलमा न्यु डायमण्ड युथ क्लबसँग पराजित भएको थियो । एपीएफ समूहको दोस्रो स्थानमा छ । समूहबाट सेमिफाइनलमा पुग्न एपीएफले मधेश प्रदेश र न्यु डायमण्डबीचको खेलको नतिजा कुर्नुपर्नेछ । त्यसपछि मात्र समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

आइतबारै अर्को खेलमा गण्डकीले बागमती प्रदेशलाई २५–११, २५–१२, २५–१९ को सोझो सेटमा हराएर सेमिफाइनलमा स्थान बनाएको छ । लगातार दुई हारपछि बागमती प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पुलिस र गण्डकीबीचको खेलपछि समूह ‘क’ को विजेता र उपविजेता टुंगो लाग्नेछ ।

हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा ६ टोलीको सहभागिता छ । विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँसहित ट्रफी जित्नेछन् ।

कान्तिपुर

Link copied successfully