काठमाडौँ — नेपालकी रेस्लर भगवती खड्काले पाकिस्तानको कराँचीमा भएको आरइडब्लू रेस्लिङको महिला सिंगल्स म्याचमा जित पाएकी छन् ।
भगवतीले पाकिस्तानकी बेगिसालाई पराजित गरिन् । पाकिस्तानमा महिला रेस्लिङ पहिलो पटक भएको हो । २०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी करिब ४० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरेकी छन् । अधिकांश प्रतिस्पर्धामा भगवतीले सफलता पाएकी छन् । यसअघि भगवतीले भारत र जापानमा खेलेकी थिइन् ।
आरइडब्लू रेस्लिङमा पुरुषका चार विधामा प्रतिस्पर्धा भएको थियो । सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबीच भएको थियो ।
सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा महिला रेस्लिङ आयोजना गरेकामा वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा भगवतीको नाम समावेश गरिएको हो । भगवतीको नामलाई वर्ल्ड बुक अफ रेकर्डस लन्डनमा पनि समावेश गरिएको छ । नेपाल महिला रेस्लिङ फाउन्डेसनले गत वर्ष मे मा उक्त प्रतियोगिता भएको थियो ।
समापनमा भगवतीले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाएकी थिइन् ।
