रामेको टिमलाई प्रो–एम

असार ८, २०८२

कान्तिपुर संवाददाता

Pro-Am to Rame's team

काठमाडौँ — प्रोफेसनल गल्फर रामे मगरको टिमले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो–एमको उपाधि जितेको छ । गोकर्ण गल्फ कोर्समा शनिबार रामे र उनको टिमले कुल १ सय ५९ अंक जोड्दै उपाधि जित्यो ।

रामेले ४१, एमेच्योर गल्फ विष्णुबहादुर कार्की र नोर्बु छिरिङ शेर्पाले ४० अंक तथा सायान बस्नेतले ३८ अंक जोडेका थिए । विजयी एमेच्योर खेलाडीलाई गल्फको क्याल्वे इलाइट ड्राइभर प्रदान गरियो ।

प्रो गल्फर दिनेश प्रजापतिको टिम १ सय ५१ अंकसहित दोस्रो भयो । दिनेशले ४० अंक जोडे । एमेच्योर गल्फर अस्मांक कार्की, वाङ्चेन ढोन्डुप र आश्रय बस्न्यातले समान ३७ अंक बटुले । प्रो गल्फर तोरणविक्रम शाहीको टिमले १ सय ४४ अंकसहित तेस्रो भए । तोरणले ३८ अंक जोडे । एमेच्योर गल्फर आशिषमान शेरचनले ३६, तरुण अग्रवाल र लीलाजंग गुरुङले  ३५ अंक जोडे ।

महिलाको उपाधि तारा कार्की चित्रकारले जितिन् । उनले ३२ अंक जोडिन् । लङ्गेस्ट ड्राइभको उपाधि संयोग शाही र क्लोजेस्ट टु दी पिनको उपाधि स्वदेश गुरुङले जिते ।

विजेतालाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम, सूर्य नेपालका उपाध्यक्ष रवि केसी, नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । प्रो एममा २८ प्रो र १ सय १२ एमेच्योर गल्फरको सहभागिता थियो । सूर्य नेपाल प्रिमियरको उपाधि एमेच्योर गल्फर राहुल विश्वकर्माले जितेका थिए ।  

नीरज नम्बर एक प्रो

सिजनको अन्त्यसँगै धरानका प्रो नीरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटको शीर्षस्थानमा रहँदै नम्बर एक प्रोफेसनल गल्फर बन्न सफल भएका छन् ।

टुरको २०२४–२५ सिजनको ८ प्रतियोगितामा ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार जित्दै उनी नम्बर एक गल्फर बनेका हुन् । यो सिजन आठमध्ये तीन उपाधि नीरजले, दुई उपाधि एमेच्योर राहुल र एक–एक उपाधि एमेच्योर सदभाव आचार्य तथा तोरणविक्रम शाही र शुक्रबहादुर राईले जितेका थिए । यो सिजन कुल ६७ लाख १० हजार पुरस्कार थियो ।

कान्तिपुर

Link copied successfully