‘ग्रासरुट’ फुटबल र भलिबल प्रशिक्षणले बालबालिका र किशोरकिशोरीमा उत्साह

असार ८, २०८२

माधव अर्याल

'Grassroots' football and volleyball training inspires children and teenagers

पाल्पा — रामपुर विजयपुरस्थित दरैठाँटी खेलमैदानमा ११ वर्षीया अनुसा खासु फुटबल प्रशिक्षण लिन पाउँदा खुसी भइन् । उनी विद्यालय समयपछि घरमै खेलेर समय बिताउँथिन् । तर अहिले खेलमैदानमा फुटबलका विभिन्न प्राविधिक विषयहरू सिक्न पाएकामा निकै उत्साहित देखिइन् ।

‘घरमै मोबाइल चलाउने, यत्तिकै खेल्ने गर्थे,’ अनुसाले भनिन्, ‘अहिले खेलमैदानमा आएर फुटबल खेल्नका लागि धेरै कुरा सिक्न पाएकामा खुसी लागेको छ ।’ रामपुर नगरपालिका नगर खेलकुद विकास समितिद्वारा सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा सहभागी १२ वर्षीय प्रपोज सेन पनि खुसी छन्। दैनिक विद्यालयपछि खेलमैदानमा फुटबलका प्राविधिक विषयहरू सिक्न पाउँदा धेरै कुरा जान्न पाएको बताए । ‘हामीले घरमा बसेर गृहकार्य गर्ने बाहेक खासै केही सिक्ने अवसर थिएन,’ सेनले भने, ‘फुटबल मैदानमा आएर धेरै कुरा सिक्न पाएको छु।’

खासु र सेन मात्र होइन, रामपुर नगरपालिकाभित्रका सयौं बालबालिका तथा किशोरकिशोरीलाई फुटबल सिकाइएको हो । रामपुर नगरपालिका–१०, गेझाकी विनिसा पाण्डे भलिबल प्रशिक्षण लिन पाएकामा खुसी छिन् । विद्यालयमा साथीहरूसँग सामान्य भलिबल खेल्ने पाण्डेले अहिले भने राष्ट्रिय प्रशिक्षकबाट धेरै कुरा सिक्न पाएकी बताइन् । ‘प्रशिक्षणले धेरै प्राविधिक विषयहरू जान्न पाएकी छु,’ उनले भनिन्, ‘भलिबल खेल्नलाई धेरै प्राविधिक पक्ष आवश्यक रहेछ भन्ने बुझ्न पाएकी छु ।’

'Grassroots' football and volleyball training inspires children and teenagersखेलकुद प्रशिक्षणले स–साना बालबालिका तथा विद्यार्थीलाई अनुशासनमा राख्दै उनीहरूको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास रामपुर नगरपालिकाको छ। त्यसैले एक महिना अवधि रहेको ग्रासरुट प्रशिक्षण सञ्चालन गरिएको हो ।

मोबाइल तथा ग्याजेटतर्फ आकर्षण घटाएर फुटबल र भलिबलप्रति अभिरुचि बढाउने उद्देश्यसहित प्रशिक्षण दिइएको नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय बालबालिका घरभित्रै बसेर इन्टरनेट र मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । ‘यस्तो प्रवृत्ति न्यूनीकरण गर्न र खेलकुदप्रति आकर्षण बढाउन यो कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने, ‘त्यसैले ८ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरेर प्रशिक्षण दिइएको हो ।’

विगतमा मेयर कपअन्तर्गत विविध खेलकुद गतिविधि सञ्चालन गर्दै आएको भए पनि यस वर्ष सानो उमेरमै खेलप्रति अभिरुचि बढाउने उद्देश्यले प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा २ सय जना सहभागी हुने अपेक्षा गरिएकोमा झन्डै ७ सय सहभागी भएको जानकारी पनि उनले दिए ।

'Grassroots' football and volleyball training inspires children and teenagersखेलाडीको सीप तिखार्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षणमा उत्साहजनक सहभागिता रहेको फुटबल प्रशिक्षक अनिल शाही ठकुरीले बताए । फुटबलतर्फ ८ देखि १२ वर्षसम्मका बालबालिका सहभागी गराइएको थियो भने भलिबलतर्फ २० वर्षमुनिका खेलाडी सहभागी गराइएको हो ।

फुटबलमा झन्डै ५ सय जना तथा भलिबलमा महिलातर्फ १ सय र पुरुषतर्फ २ सयभन्दा बढी सहभागी भएको भलिबल संघ पाल्पाका अध्यक्ष तथा नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङले जानकारी दिए । बालबालिका तथा किशोरकिशोरीलाई बिहान र बेलुकी गरी दुई सिफ्टमा प्रशिक्षण दिइएको थियो ।

भलिबल प्रशिक्षणका लागि रामपुर बजार क्षेत्रमा आउन नसक्नेका लागि सम्बन्धित गाउँमै पुगेर घुम्ती प्रशिक्षण दिइएको थियो । भलिबलतर्फ राष्ट्रिय भलिबल रेफ्री तथा फुटबलतर्फ एन्फाका तालिमप्राप्त खेलाडीहरूले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणले नयाँ खेलाडी उत्पादनका लागि उत्साह जगाएको भलिबल प्रशिक्षक कमल रानाले बताए । बढ्दो सहरीकरणसँगै बालबालिकामा खेलकुदको भावना विकास गराउन सहयोग पुगेको विश्वास व्यक्त गरे ।

भलिबलका राष्ट्रिय प्रशिक्षक अनन्त प्रसाद श्रेष्ठले किशोरकिशोरीमा देखिएको उत्साहले आगामी दिनमा राम्रा खेलाडी उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे । नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण मल्लले पनि यसले सकारात्मक परिणाम दिने बताए ।

रामपुर नगरपालिकाले विगतमा मेयर कपअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएकोमा यसवर्ष स–साना बालबालिकालाई प्रशिक्षण दिएर भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास राखिएको नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँडले जानकारी दिए । ‘घरमै बसेर मोबाइल, टेलिभिजन, अनावश्यक रूपमा समय बिताउने भन्दा पनि बालबालिका र किशोरकिशोरीलाई मैदानमा ल्याएर घुलमेल गराउने, अनुशासन सिकाउने र खेलप्रति रुचि बढाउने उद्देश्य लिइएको हो,’ उनले भने, ‘आगामी दिनमा फुटबल र भलिबल खेलाडी उत्पादनमा यसको सकारात्मक प्रभाव पर्नेछ ।’

'Grassroots' football and volleyball training inspires children and teenagersप्रशिक्षणको समापन गर्दै नगरप्रमुख रमणबहादुर थापाले सक्षम खेलाडी उत्पादनका लागि तालिम सञ्चालन गरिएको जानकारी दिए । उनले बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा टेवा पुर्‍याउने उद्देश्य रहेको बताए । ‘विगतमा मेयर कप सञ्चालन हुँदा धेरै बालबालिकाले अवसर पाउन सकेनन्,’ उनले भने, ‘त्यसैले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।’

रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले खेलाडीहरूले खेलको माध्यमबाट नगरको पहिचान स्थापित गर्न सक्ने बताए । वडा नं. ६ का वडाध्यक्ष दिवाकर देवकोटाले प्रशिक्षणले बालबालिकाको सोच र व्यवहारमा नै परिवर्तन ल्याएको बताए । वडा नं. ७ का वडाध्यक्ष दोवराज तिवारीले नगरपालिकाले खेल क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्दै आएको जानकारी दिए ।

रामपुर नगरपालिकाले लुम्बिनी प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड तथा पालिकास्तरीय प्रतियोगितामा विजयी खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गर्दै आएको छ ।

रामपुर नगरपालिकाले फुटबल र भलिबल मात्र नभई क्रिकेट, कबड्डीलगायतका खेलमा पनि प्रशिक्षण दिँदै आएको छ । यसअघि कराँतेको तीन महिने प्रशिक्षण पनि सम्पन्न गरिसकेको छ । कराँतेका लागि १ सय ५५ जनालाई दुई सिफ्टमा प्रशिक्षण दिइएको थियो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully