मियामी गार्डेन — बायर्न म्युनिखले शनिबार अर्जेन्टिनाको बोका जुनियर्सलाई २–१ ले पराजित गर्दै फिफा क्लब विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ ।
बायर्नका लागि ह्यारी केन र माइकल ओलिसले गोल गरेका थिए । केनले गोलको खाता खोलेयता म्यागुएल मेरेनटाइले बोका जुनियर्सका लागि बराबरी गरेका थिए । खेलको अन्त्यतिर ओलिसले निर्णायक गोल गरेका हुन् ।
यसअघि युरोपका पेरिस सेन्ट जर्मेन (पीएसजी) बोटोफोगो र चेल्सी फ्लेमिङ्गोको हातबाट पराजित भएयता बायर्नले प्रतियोगितामा दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराउन नसक्ने क्रमलाई रोकेको हो । बायर्नका लागि समूह ‘सी’ मा यो महत्त्वपूर्ण जित रह्यो । ‘हाम्रा खेलाडीले राम्रो खेले । हामीलाई सुरुमै थाहा थियो, यो खेल सजिलै जित्न सकिने छैन,’ ह्यारी केनले पछि भने ।
उनको थप प्रतिक्रिया थियो, ‘खेलका क्रममा गर्मीले गर्दा खेलाडीलाई गाह्रो भइरहेको छ । हामी पहिलो हाफमै दुई तथा तीन गोलले अगाडि रहनुपर्ने थियो । यस्तो गर्न सकेनौं, त्यसैले दोस्रो हाफमा दबाबमा रह्यौं । हामी फेरि एकपल्ट अगाडि रहेपछि उनीहरूले थप दबाब सिर्जना गर्न सकेनन् ।’ हार्डरक स्टेडियम यसपल्ट भने ६३ हजारभन्दा बढी दर्शकले भरिएको थियो ।
हारका बावजुत बोका जुनियर्सका गोलरक्षक मारचेसिनले आफ्नो टिमले यत्तिको खेल्ने स्तर कायम राख्नुपर्ने बताए । उनले भने, ‘यो खेल हामी धेरै पीडासँगै टुंग्याएका छौं । हामी उत्तिकै निराश पनि छौं । तर टिमको प्रदर्शनमा भने खुसी छौं र अझ अबको दिनमा राम्रो खेल्न सक्ने विश्वास बढेको छ ।’ यो नतिजाले बोका जुनियर्सको दुई खेलबाट एक अंकमात्र भएको छ ।
बायर्नको भने समान दुई खेलबाट ६ अंक भएको छ । टोलीले आफ्नो पहिलो खेलमा अकल्यान्ड सिटीलाई १०–० ले हराएको थियो । बेनफिका भने ४ अंकसहित दोस्रो स्थानमा छ । बेनफिकाले यसअघि अकल्यान्ड सिटीलाई ६–० ले पराजित गरेको छ । हारसँगै प्रतियोगितामा अकल्यान्डको चुनौती समाप्त भएको छ । बेनफिकाका लागि भने अर्जेन्टिनी स्टार एन्जेल डी मारियाले दुई गोल गरे ।
समूह ‘डी’ भने फ्लेमिङ्गोले दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनको मदतमा चेल्सीलाई ३–१ ले पराजित गरेको छ । चेल्सीले पेड्रो नेटोको गोलमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । फ्लेमिङ्गोको तर्फबाट ब्रुनो हेनरिक, डानिलो र वालेस यानले १–१ गोल फर्काए । चेल्सीले ६८ मिनेटयता १० खेलाडीमा सीमित भएर खेलेको थियो ।
निकोलस ज्याक्सन रातो कार्डमा मैदान छाड्न बाध्य रहे । ‘हाम्रा लागि विशेष दिन रह्यो । हामीलाई थाहा थियो, टिमले आफूले सक्दो प्रदर्शन गर्ने हो भने चेल्सीलाई हराउन सकिनेछ,’ प्रशिक्षक फिलिप लुइसले भने । यस समूहको अर्को खेलमा इस्पारेन्सले लस एन्जलस एफसीलाई १–० हराएको छ । यस नतिजापछि फ्लेमिङ्गो सुरुआती दुवै खेल जित्दै अर्को चरण पुगेको छ ।
