लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो प्रथम

असार ८, २०८२

नवीन पौडेल

Alpha Taekwondo 1st in Lumbini State Level Taekwondo Competition

परासी — पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय खुला दोस्रो रामनगर तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङ दाङ प्रथम भएको छ । उक्त डोजाङले ७ स्वर्ण र ३ रजत गरी कुल १० पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

यसैगरी २ स्वर्ण र ५ रजत पदक सहित बुटवल डोजाङ दोस्रो तथा १ स्वर्ण र १ कांस्य पदक सहित तिलोत्तमा डोजाङ तेस्रो भएको खेल संयोजक टपन केवटले जानकारी दिए । क्यारुगीतर्फ बुटवल तेक्वान्दो डोजाङ प्रथम, रामग्राम डोजाङ दोस्रो र तिलोत्तमा डोजाङ तेस्रो स्थानमा रहेका छन् ।

प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने अल्फा डोजाङका गणेश विक र निशा पुन मगरलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ । प्रतियोगितामा प्रथम टोलीलाई ट्रफी, स्वर्णपदक र प्रमाणपत्र, दोस्रो टोलीलाई रजतपदक र प्रमाणपत्र तथा तेस्रो टोलीलाई कांस्यपदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा सम्पन्न उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १२ वर्षमाथिका एकल तथा विभिन्न उमेर समूहका पुरुष तथा महिला गरी ४५० भन्दा बढी खेलाडी सहभागी भएका थिए ।

प्रतियोगिता लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा, सुनवल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा र योङ गोर्खालीज क्लबको व्यवस्थापनमा सम्पन्न भएको हो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully