हेटौंडामा महिला भलिबल आजदेखि

असार ७, २०८२

कान्तिपुर संवाददाता

Women's volleyball in Hetaunda from today

मकवानपुर — नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा शनिबार हेटौंडामा राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिता हुनेछ ।

राष्ट्रिय महिला भलिबलको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहने आयोजक नेपाल स्पोर्ट सेन्टरका अध्यक्ष अनिलकुमार रिजालले बताए । 

विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ पाउनेछ । असार ११ सम्म हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ । ‘प्रत्येक वर्ष आयोजना गर्ने गरी सुरु गरिएको यस नेकोस खेलकुद प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने योजना छ,’ अध्यक्ष रिजालले भने, ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।’ महिला भलिबल प्रतियोगिताको शनिबार हेटौंडा उपमहानगरका मेयर मीना लामाले उद्घाटन गर्नेछन् । 

हेटौंडामै महिला भलिबलसँगै नेकोस राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता पनि हुने भएको छ । स्केटबोर्ड प्रतियोगिता विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । दुवै प्रतियोगिताका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने प्रचार संयोजक सफल अधिकारीले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully