काठमाडौँ — नेपाली फुटबलवृत्तलाई विश्वास गर्ने हो भने यो देशकै सर्वाधिक लोकप्रिय क्लब थ्रीस्टार रेलिगेसनमा परेको छ । टोलीले सहिद स्मारक ‘ए’ डिभिजन लिगको हैसियत गुमाएको छ । अब तीनपल्टको माथिल्लो डिभिजनको लिग च्याम्पियनले ‘बी’ डिभिजन खेल्नुपर्नेछ । यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) को तर्फबाट कुनै आधिकारिक जानकारी भने बाहिर आएको छैन ।
यदि यो सत्य हो भने यसको प्रभाव नेपाली फुटबलमा भयावहका रूपमा रहन सक्नेछ । थ्री स्टारले ०५४, ०५१ र ०६९ मा ‘ए’ डिभिजन जितेको थियो । सहिद स्मारक लिग ‘ए’ डिभिजनको पछिल्लो संस्करण दुई वर्षअघि भएको थियो । त्यसैको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै रेलिगेसन टारेको थियो ।
यही नतिजाका कारण विभागीय टोली एपीएफ क्लब भने घटुवामा परेको थियो । त्यसपछि एपीएफले त्यस खेलमा थ्रीस्टारले अवैधानिक खेलाडी उतारेको भनेर उजुरी दिएको थियो । थ्रीस्टारमाथि भिसा अवधि सकिएका दुई विदेशी खेलाडी उतारेको आरोप लागेको थियो । त्यही उजुरीका आधारमा एन्फाको अनुशासन कमिटीले थ्रीस्टार र सम्बन्धित खेलाडीलाई मात्र कारबाही गरेको थियो । तर अहिले अपिल कमिटीले त्यस निर्णयलाई उल्टाएर अवैधानिक खेलाडीका कारण देखाउँदै थ्रीस्टार जावालखेलको हातबाट ३–० ले पराजित भएको निर्णय सुनाएको छ । त्यसअनुसार पाटनको यो सफल क्लब अब ‘बी’ डिभिजनमा झर्नेछ । यही निर्णयसँगै एपीएफ भने ‘ए’ डिभिजनमा कायम रहनेछ ।
क्लबहरूले पाएनन् एएफसी लाइसेन्स
अबको सिजन नेपालका कुनै पनि क्लबले एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका प्रतियोगिता खेल्ने छैनन् । ती प्रतियोगिता खेल्न आवश्यक क्लब लाइसेन्सप्राप्त गर्न नसकेपछि यो खराब स्थिति तयार भएको हो । गत सिजन चर्च ब्वाइज युनाइटेडले यस्तो लाइसेन्स प्राप्त गर्दै एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलेको थियो । एएफसीले क्लब सञ्चालनका लागि आवश्यक न्युनतम आवश्यकता पूरा गरेपछि मात्र क्लब लाइसेन्स प्रदान गर्छ । यसपल्ट नेपालमा सहिद स्मारक लिग ‘ए’ सिजन नभएको हुनाले पनि एएफसीका प्रतियोगितामा सहभागितालाई लिएर प्रश्न कायम थियो । अब कुनै पनि नेपाली क्लबले लाइसेन्स नै नपाएपछि यो दुविधा पनि हटेको छ ।
