तीनदेशीय ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा नेपाल पराजित, रनरेटमा स्कटल्यान्डलाई उपाधि
ग्लास्गो (स्कटल्यान्ड) — तीनदेशीय ट्वान्टी–२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा शुक्रबार घरेलु टोलीसँग पराजित भए पनि नेपालले स्कटल्यान्ड यात्रा ठूलो सफलतासहित टुंग्याएको छ । खासै ठूलो अपेक्षा नगरिएको स्कटल्यान्ड भ्रमणलाई प्रशिक्षक स्टुवार्ट ल ‘उत्साहजनक र सफल टुर’ मान्छन् ।
तीनदेशीय यस प्रतियोगिता जितेको नेपाल प्रतियोगिताको विजेता बन्ने थियो, जुन विदेशी भूमिमा दुर्लभ नै हुन्थ्यो । तर स्कटल्यान्डले शुक्रबार नेपाललाई ३४ रनले पराजित गर्यो । नेपाललाई पराजित गरी उल्टै स्कटल्यान्डले प्रतियोगिताको विजेता बन्यो । डबल राउन्ड रोबिनमा आयोजित
प्रतियोगितामा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ खेलमा जित र २ मा पराजय भोगे । तर नेट रनरेटमा स्कटल्यान्ड शीर्षस्थानमा रहेकाले विजेता बन्यो । नेपाल दोस्रो स्थानमा रह्यो ।
विकेटको कन्डिसन, मौसम र प्रतिद्वन्द्वी हेर्ने हो भने नेपालको यो सबैभन्दा कठिन टुर थियो । त्यसमा विश्वकप लिग २ का दाबेदार टोली नेदरल्यान्ड्स र स्कटल्यान्डसँग खेल्नु झनै कठिन थियो । स्कटल्यान्डको निकै चिसो मौसम पनि नेपालको लक्ष्यमा तगारो बन्ने अनुमान गरिएको थियो ।
तर यी सबैलाई चिर्दै नेपालले डन्डीमा लिग २ को ४ मध्ये ३ खेलमा विजय हात पारेको थियो । पराजित एक खेलमा स्कटल्यान्डविरुद्ध ३ सय २४ रनको लक्ष्य पछ्याएको नेपालले ३ सय २१ रनमात्र बनाउन सकेको थियो । यसले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अभियानलाई ठूलो टेवा दिएको छ ।
नेपालको प्रशिक्षकको रूपमा अस्ट्रेलियाका ल को पनि यो पहिलो भ्रमण थियो । नेपालले ग्लास्गो आएर चारमध्ये २ खेल जितेपछि अक्टोबरमा हुने ट्वान्टी–२० विश्वकप एसिया प्यासिफिक छनोटअगाडि उनी निकै हौसिएका छन् । स्कटल्यान्डसँगको खेलअघि नेपालले तीनदेशीय प्रतियोगिताको पहिलो ३ खेलमा २ मा जित हात पारेको थियो । नेदरल्यान्ड्ससँग आइतबार नेपाल तीन सुपर ओभरमा टुंगिएको खेलमा पराजित भएको थियो । मंगलबार स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको नेपालले अघिल्लो दिन नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार विजय हात पारेको थियो ।
जितसँगै स्कटल्यान्ड च्याम्पियन
तीनदेशीय प्रतियोगिताको अन्तिम तथा उपाधिको हिसाबले निर्णायक खेलमा स्कटल्यान्डले शुक्रबार नेपाललाई ३४ रनले पराजित गर््यो । ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ सय ९४ रनको विशाल लक्ष्य पाएको नेपाल १८.५ ओभरमा १ सय ५९ रनमा अलआउट भयो । यसै शृंखलादेखि ‘डेब्यु क्याप’ पाएका रुपेश सिंह ४३ रन बनाई अविजित रहे । उनले २२ बलमा १ चौका र ३ छक्का प्रहार गरे । नेपालबाट सर्वाधिक ८१ औं ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका दीपेन्द्रसिंह ऐरी ३४ रनमा आउट भए । उनले ३३ बलमा समान १ चौका र छक्का प्रहार गरे ।
कुशल भुर्तेल ४, भीम सार्की १२, आसिफ शेख १४, आरिफ शेख र लोकेश बम ५–५ रनमा आउट भए । कप्तान रोहित पौडेलले २० बलमा ४ चौकासहित २७ रन बनाए । सन्दीप लामिछाने शून्य, रिजन ढकाल ५ र ललित राजवंशी १ रनमा आउट भए । स्कटल्यान्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन खर्चेर ३ र साफ्यान सरिफले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले ५ विकेट गुमाई १ सय ९३ रन बनाएको थियो । जर्ज मुन्सी र ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै दोस्रो विकेटमा १ सय रनको साझेदारी गरेर स्कटल्यान्डलाई विशाल लक्ष्यमा उभ्याए । कामचलाउ ओपनरको रूपमा खेल्दै आएका मार्क वाट चल्न सकेनन् । उनलाई रुपेश सिंहले ९ रनमा बोल्ड गरे । त्यसपछि खेलमा हावी भएका ओपनर मुन्सीले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ र म्याकमुलेनले ३० बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए । कप्तान रिची बेरिङटन ९ र फिन्ले म्याकक्रिथ १ रनमा आउट भए । म्याथ्यु क्रस १३ बलमा २ चौकासहित १७ र माइकल लिस्क १७ बलमा १ चौका र २ छक्कासहित २६ रनमा अविजित रहे ।
नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलेको टोलीबाट करण केसीको स्थानमा रिजन ढकाललाई खेलाएको छ । तर देव्रेहाते तीब्र बलर रिजनले खेलमा खासै प्रभाव देखाउन सकेनन् । उनले ३ ओभरमा ३५ रन खर्चन पुगे । उपकप्तान दीपेन्द्रसिंह पनि महँगा भए । उनले ४ ओभरमा ५० रन खर्चेर विकेट लिन सकेनन् । कुशल भुर्तेलले २ विकेट लिए । उनले २ ओभरमा २० रन खर्चे । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेशले १–१ विकेट लिए ।
