ट्वान्टी–२० विश्वकप लक्ष्यमा नेपाल

‘विश्वकपलगायतको उच्च प्रतियोगितामा खेल्ने हो भने प्रत्येक पटक राम्रो गर्दै जानुपर्छ, सधैं भाग्यले साथ दिँदैन’

असार ६, २०८२

विनोद पाण्डे

Nepal is aiming for the Twenty20 World Cup

ग्लास्गो, स्कटल्यान्ड — नेदरल्यान्ड्सविरुद्ध सोमबार ग्लास्गोमा भएको तीनदेशीय ट्वान्टी–२० शृंखलाको खेललाई नेपालका प्रशिक्षक स्टुवार्ट ल चार खेल खेलेको बताउँछन् । पहिलो ट्वान्टी–२० खेल, जहाँ दुवै टोलीले समान १ सय ५२ रन बनाए । त्यसपछिका तीन सुपर ओभर । यो तीनलाई उनी फरक तीन खेलको रूपमा व्याख्या गर्छन् ।

त्यसको भोलिपल्टै अर्थात मंगलबार घरेलु टोली स्कटल्यान्डविरुद्धको खेलमा केवल ९८ रनको विजय लक्ष्य पायो । तर, त्यसलाई पूरा गर्न पनि नेपालले निकै मिहिनेत गर्नुपरेको थियो । अन्तिम बल अघि मात्र विजय लक्ष्य पूरा गरेको थियो । स्कटल्यान्ड भ्रमणभरि नेपालले खेलेका अधिकांश खेल अन्तिम ओभरमा पुगेर मात्र निर्णय आएको छ । 

‘नेपालमा टेलिभिजनमा खेल हेरिरहेकाहरू फेरि यो खेल हेर्न नचाहनेमा निश्चित छ, किनभने यसले हृदयघात निम्त्याउने छ, सधैंभरि यसरी खेलेर पनि हुँदैन,’ स्कटल्यान्डसँग मंगलबारको खेलपछि प्रशिक्षक लले भनेका थिए । स्कटल्यान्ड आएयता नेपाली टोलीलाई अन्तिम ओभर र अन्तिम बलसम्म पुगेर नतिजा निकाल्ने बानी नै परिसकेको छ । यसले समर्थकलाई पूर्ण मनोरञ्जन दिए पनि उकुसमुकुस नै बनाएको छ । 

नेपाल र नेदरल्यान्ड्सबीचको खेलपछि स्कटल्यान्डका अलराउन्डर मार्क वाटले एक्समा लेखेका थिए, ‘के नेपालले अहिलेसम्म कहिल्यै साधारण क्रिकेट खेलेको छ ?’ डन्डीमा नेपालले स्कटल्यान्डविरुद्ध २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पछ्याउँदा स्पिनर वाटले नै अन्तिम ओभर बलिङ गरेका थिए । स्कोर बराबर भएपछिको अन्तिम बलमा वाटले नै वाइड फाल्दा नेपालले स्कटल्यान्डमा पहिलो खेलमै सफलता पाएको थियो । 

दर्शकको उत्साह उत्कर्षमा पुगे पनि नेपाली टोलीको प्लेयर बक्स अचेल शान्त देखिन्छ । ‘पछिल्ला ४० वर्षमा म धेरै सफल टोलीसँग जोडिँदै आएको छु, एउटा कुरा के सत्य हो भने यदि तपार्इं शान्त भएर बस्नुहुन्छ भने दबाबका बेलामा सही निर्णय गर्न सक्नुहुन्छ,’ यसअघि बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका, अफगानिस्तान र अमेरिकी टोलीमा विभिन्न भूमिकामा रहेका प्रशिक्षक ल नेपाली क्रिकेट टोलीलाई ‘ह्याप्पी ड्रेसिङ रुम’ बाट ‘शान्त ड्रेसिङ रुम’ मा परिवर्तन गरिरहेका छन् । कोठाभित्र हुने टिम मिटिङहरूलाई उनले मैदानमै लगेर गर्ने गरेका छन् । 

स्कटल्यान्डमा भइरहेको तीनदेशीय ट्वान्टी–२० प्रतियोगितालाई नेपालले अक्टोबरमा ओमानमा हुने एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्रको विश्वकप छनोटको तयारीका रूपमा लिएको छ । तर प्रदर्शन, विशेष गरी स्कटल्यान्डसँगको खेलमा त्यसअनुरुप हुन नसकेपछि उनको चिन्ता बढ्नु स्वाभाविक नै थियो । ओपनिङ ब्याटिङ चल्न सकेको छैन । 

उनी भन्छन्, ‘विश्वकपलगायतको उच्च प्रतियोगितामा खेल्ने हो भने यो विषयलाई सम्बोधन गर्दै प्रत्येक पटक राम्रो गर्दै जानुपर्ने हुन्छ, तर सधैं भाग्यले साथ दिँदैन,’ नेपाली टोलीको प्रशिक्षकका रूपमा स्कटल्यान्ड भ्रमण उनको पहिलो प्रतियोगिता हो । डन्डीमा विश्वकप लिग–२ को स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको ४ खेलमा नेपालले ३ मा जित हात पारेको थियो ।

उनी स्कटल्यान्ड भ्रमणबारे अहिलेसम्मको यात्रालाई ‘अत्यधिक सफल’ मान्छन् । ‘नेपाली टोली यहाँ खासै ठूलो उद्देश्य लिएर आएको थिएन, खेलाडीहरूले अहिलेसम्म राम्रै गर्दै आएका छन्,’ स्टुवार्ट लले भने, ‘खेलाडीहरूले राम्रो खेल्ने हो भने उनीहरूलाई कदर गर्नुपर्छ । क्रिकेट प्रदर्शनमा आधारित खेल हो । खेलाडीहरूले अहिलेसम्म असाधारण खेल्दै आएका छन् ।’ डन्डीमा लिग २ को तेस्रो खेलमा प्रमुख खेलाडीद्वय तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी र गुलशन झा घाइते भए पनि नेपालले ग्लास्गोको पहिलो दुई खेलमा राम्रो बलिङ गरिरहेको थियो । नेदरल्यान्ड्ससँगको पहिलो खेलमा राम्रो गरेका नन्दन यादव पनि घाइते भए । उक्त खेलमा नन्दन, करण केसी र रुपेश सिंहले नेपालको तीव्र गतिको बलिङ मोर्चा सम्हालेका थिए ।

तर स्कटल्यान्डसँगको दोस्रो खेलमा रुपेश नेपाली टोलीमै रहे पनि बलिङ गरेका थिएनन् । सो खेलमा तीव्र गतिको बलिङ जिम्मेवारी करण एक्लैले निभाउँदै सुरुको २ विकेट लिए, बाँकी चार बलरहरू सबै स्पिनर थिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र कुशल भुर्तेल स्पिनरको भूमिकामा झनै प्रभावकारी बनेका थिए । 

‘बेलायतको विकेट कन्डिसन सिम बलरका लागि धेरै प्रभावकारी हुन्छ, सिम बलरहरू टिमका लागि महत्त्वपूर्ण हुन्छन्, यसले टिमलाई एउटा लय देखाउँछ,’ करणले भने, ‘नेपालमा स्पिनरहरू बढी महत्त्वपूर्ण हुन्छन् । उनीहरूले विकेट पाउने सम्भावना पनि बढी हुन्छ । यहाँ बल स्विङ राम्रो हुन्छ । त्यसैले मलाई यस्तो कन्डिसन र विकेट सुहाउँछ । फास्ट बलर भए पनि कति प्रभावकारी हुन्छ भने त्यो बल फालेपछि मात्र थाहा हुन्छ, तर कन्डिसनको प्रयोग कसरी गर्ने भन्ने त्यो चाहिँ आफ्नै हातमा हुन्छ ।’

स्कटल्यान्डको खेलबाट करण ट्वान्टी–२० अन्तराष्ट्रियमा १ सय विकेट पूरा गर्ने नेपालको दोस्रो बलर बनेका थिए । अन्य तीन तीब्र बलरको अनुपस्थितिमा करणमाथि जिम्मेवारी झन बढी हुनेछ ।  ओमानमा ट्वान्टी–२० विश्वकप छनोट खेल्नुअघि नेपाली टोली अस्ट्रेलिया गएर त्यहाँको स्थानीय टोलीसँग खेल्ने कार्यक्रम छ । ओमानको विश्वकप छनोटको ठीक एक साताअगाडि नेपालले यूएईको शारजहाँमा वेस्ट इन्डिजसँग तीन ट्वान्टी–२० खेलको शृंखला खेल्ने छ । पूर्ण राष्ट्रविरुद्ध पहिलो पटक खेल्ने लागेको शृंखलाले नेपालका लागि निकै ठूलो महत्व बोक्ने प्रशिक्षक ल बताउँछन् । 

‘वेस्ट इन्डिज दुई पटक ट्वान्टी–२० विश्वकप च्याम्पियन हो, शारीरिक हिसाबमा उनीहरू निकै बलिया छन्, मैले  उनीहरूलाई प्रशिक्षण पनि दिइसकेको छु,’ उनी भन्छन्, ‘अब फेरि म उनीहरूलाई हेर्नेछु ।’ उनी २०१८–१९ मा वेस्ट इन्डिजको मुख्य प्रशिक्षक थिए । 

नेपालले यसअघि २०१४ र २०२४ मा गरी दुई पटक ट्वान्टी–२० विश्वकप खेलिसकेको छ । नेपालले गत वर्ष १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्दा ल घरेलु टोली अमेरिकाको प्रशिक्षक थिए । पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै अमेरिका ट्वान्टी–२० विश्वकपको दोस्रो चरणमा पुगेको थियो, जसका कारण अहिले अमेरिकाले छनोट चरण खेल्नुपरेको छैन । 

नेपाल भने ओमानमा साढे ३ महिनापछि हुने ट्वान्टी–२० विश्वकपको तयारीमा जुटिसकेको छ । एसोसिएट क्षेत्रको विश्वकप छनोट खेलहरूमा निकै चर्को प्रतिस्पर्धा हुने गरेका बताउँदै ल भन्छन्, ‘शान्त भएर आफ्नो भूमिका बुझेर खेल्ने हो भने हामी निश्चय पनि ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछौं ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully