ग्लास्गो — स्कटल्यान्डले तीनदेशीय ट्वान्टी–२० शृंखलाको अन्तिम तथा उपाधिको हिसाबले निर्णायक खेलमा नेपाललाई १ सय ९४ रनको विशाल लक्ष्य दिएको छ । शुक्रबार टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ५ विकेट गुमाई १ सय ९३ रन बनाएको हो ।
जर्ज मुन्सी र ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै दोस्रो विकेटमा १ सय रनको साझेदारी गर्दै स्कटल्यान्डलाई विशाल लक्ष्यमा उभ्याएका हुन् । कामचलाउ ओपनरका रुपमा खेल्दै आएका मार्क वाट अर्को खेलमा पनि चल्न सकेनन् । उनलाई रुपेश सिंहले ९ रनमा बोल्ड गरे ।
त्यसपछि खेलमा हावी भएका ओपनर मुन्सीले ३९ बल खेली ५ चौका र ६ छक्का प्रहार गरी ७८ र म्याकमुलेनले ३० बल खेली ४ चौका र १ छक्कासहित ४२ रन बनाए । कप्तान रिची बेरिङटन ९, फिन्ले म्याकक्रिथ १ रनमा आउट भए । म्याथ्यु क्रस १३ बल खेली २ चौका प्रहार गरी १७ र माइकल लिस्क १७ बल खेली १ चौका र २ छक्का प्रहार गरी २६ रनमा अविजित रहे ।
यस खेलमा विजय हात पार्ने टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ । नेपालले प्रतियोगिताका तीन खेलमा २ मा विजय हात पारेको छ । नेदरल्यान्ड्सले सबै ४ खेल खेली २ मा विजय हात पारेको छ भने २ मा पराजय भोगेको छ । तर नेदरल्यान्ड्स रनरेटमा नेपालभन्दा पछाडि छ । स्कटल्यान्डले आजको खेल जितेमा टोलीको ४ अंक हुनेछ र नेपाललाई उछिन्दै शीर्ष स्थानमा पुग्नेछ ।
नेदरल्यान्ड्ससँग आइतबार नेपाल तीन सुपर ओभरमा टुंगिएको खेलमा पराजित भएको थियो । मंगलबार स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको नेपालले बिहीबार नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार विजय हात पारेको थियो ।
नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलेको टोलीबाट करण केसीको स्थानमा रिजन ढकाललाई खेलाएको छ । तर देव्रेहाते तीव्र बलर रिजनले खेलमा खासै प्रभाव देखाउन सकेनन । उनले ३ ओभरमा ३५ रन खर्चन पुगे । उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि महङ्गा साबित भए । उनले ४ ओभरमा ५० रन खर्चेर कुनै विकेट लिन सकेनन् । कुशल भूर्तेलले २ विकेट लिए । उनले २ ओभरमा २० रन खर्चे । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेशले १–१ विकेट लिए ।
