वासिङटन — रान्डल कोलो मुनी र फ्रान्सिस्को कोन्सेकाउले २–२ गोल गरेपछि युभेन्ट्सले फिफा क्लब विश्वकप फुटबलमा बुधबार यूएईको अल एनमाथि ५–० ले जित निकालेको छ । ह्वाइटहाउस भ्रमणपछि मैदानमा फर्केको युभेन्ट्सले यो सजिलो जित निकालेको हो ।
समूह ‘जी’ को खेल अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युभेन्ट्सका खेलाडी र पदाधिकारीहरूलाई भेटेका थिए । यो जितपछि युभेन्ट्स इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसम्मिलित यस समूहको शीर्षस्थानमा रह्यो ।
जितपछि युभेन्ट्सका प्रशिक्षक इगोर टुडोरले भने, ‘यो खेल हाम्रा लागि राम्रो रह्यो । खेलको गति पनि उत्कृष्ट थियो । समग्रमा सबथोक राम्रो भयो । हाम्रा लागि ह्वाइटहाउसको भ्रमण सुखद रह्यो, जो कोही अमेरिकी राष्ट्रपति भवनमा जान पाउँदैनन् ।’
इटालीको सिरी ‘ए’ क्लबका लागि एक गोल केनन यिल्डिजको नाममा रह्यो । डिफेन्डिङ च्याम्पियन सिटीले पनि प्रतियोगितामा विजयी सुरुआत गरेको छ । टोलीले मोरक्कोको वाएडाड कासाब्लान्कालाई २–० ले हरायो ।
फिल फोडेनले खेल सुरु भएको दोस्रो मिनेटमै गोलको खाता खोलेपछि जेरेमी डोकुले दोस्रो गोल थपे । सिटी व्यवस्थापक पेप ग्वार्डिओलाले खेलपछि भने, ‘यति धेरै गर्मीमा खेल्न सजिलो हुन्न । तर हाम्रो प्रदर्शन राम्रो नै रह्यो । धेरै नयाँ खेलाडीले खेल्ने अवसर पाए । लिग चरणको पहिलो खेल जहिले पनि निकै महत्त्वपूर्ण हुन्छ । यही खेलमा हामी जित हात पार्न सफल रह्यौं, त्यसैले सुखद स्थिति भयो ।’ सिटीसामु घरेलु सिजनको खराब स्थिति सुखमा परिणत गर्ने अवसर हुनेछ ।
ग्वार्डिओलाको थप प्रतिक्रिया थियो, ‘हामीले पहिलो पाइला राम्रोसँग चालेका छौं । यो नै सबैभन्दा ठूलो उपलब्धि हो । अब हामी अर्को खेललाई तयार हुनेछौं । अबको केही दिन प्रशिक्षणमा रहन्छौं । त्यसपछि हाम्रा खेलाडी फेरि ताजा महसुस गर्दै खेलमा फर्कने छन् । आउँदो सिजनका लागि हामीसँग धेरै नयाँ खेलाडी छन् । अझ घाइते खेलाडी पनि फिट भएर मैदानमा फर्कने छन् । मलाई लाग्छ, हामी अहिले सही दिशातर्फ अग्रसर छौं ।’
कीर्तिमान पाँचपल्टको विजेता रियल म्याड्रिड भने समूह ‘एच’ को खेलमा साउदी अरेबियाको अल हिलालसँग १–१ को बराबरीमा रोकियो । खेलको दोस्रो हाफको इन्ज्युरी समयमा फेडेरिको भाल्भेरडे पेनाल्टीमा गोल गर्न चुकेपछि रियल १ अंकमै चित्त बुझाउन बाध्य रह्यो । हार्डरक स्टेडियममा रियलका नयाँ प्रशिक्षक जाभी अलोन्सो विजयी सुरुआत लिन असफल रहे ।
गोन्जालो गार्सियाले ३४ औं मिनेटमा रियलका लागि पहिलो गोल गरे भने रुबेन नेभेसले हलालका लागि ४१ औं मिनेटमा बराबरी गोल फर्काए । साउदी क्लबका लागि यसै खेलबाट प्रशिक्षक सिमोनी इन्जाघीले डेब्यु गरेका छन् ।
