प्रतियोगिता सुरु भएको केही दिन भइसक्यो, तर यसको लोकप्रियता कतै देखिएन
लस एन्जलस — फिफा क्लब वर्ल्डकप फुटबल शनिबारदेखि नै सुरु भइसक्यो । पहिलो खेल थियो, मियामीको हार्डरक स्टेडियम । आधुनिक फुटबलका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार लियोनल मेसी मैदानमा उत्रेका थिए । अर्जेन्टिनी खेलाडी मेसीको खेल हेर्न दर्शकदीर्घामा थिए डेविड बेकह्याम, रोनाल्डो, काका, बेबेटो, रोबर्टो बाजियो र जाभियर जेनेटी । फुटबलमा योभन्दा बढी के चाहिन्छ र ?
इन्टर मियामीका लागि मेसीले गोल भने गर्न सकेनन् । त्यसैले मियामी र इजिप्टको अल अहलीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । यो खेल हेर्न अत्यधिक दर्शक रंगशालामै पुगे । तिनीहरूको लोभ थियो, अर्जेन्टिनी स्टारले गोल गर्नेछन् । त्यस्तो केही भएन । तर फिफाका अध्यक्ष जियानी इन्फाटिनो भने खुसी रहे । प्रतियोगिताको पहिलो खेलले जस्तो रूप लियो, उनी त्यसमा सन्तुष्ट देखिए ।
इन्फाटिनोले यो प्रतियोगितालाई आफ्नै व्यक्तिगत जस्तो मानिरहेका छन् । उनी यसलाई निकै सफल बनाउन चाहन्छन् । सन् २०२६ को विश्वकपको आयोजकमध्ये एक अमेरिकामा अहिलेको प्रतियोगिता भव्य होस भन्ने चाहन्छन् उनी । तर प्रतियोगिता केही दिन पुरानो भइसकेको छ, तर यसको लोकप्रियता कतै देखिएको छैन । प्रतियोगिताले कुनै प्रकारको तहल्का मच्चाउन सकेको छैन ।
यसको स्पष्ट केही कारण छन् । खेल सुरु हुने समय छ, मध्य दिनमा वा ३ बजेतिर । यो स्नाथीय समयअनुसार निकै प्रचण्ड गर्मी हुने अवस्था हो । खेलाडीलाई यो मौसममा खेल्न निकै गाह्रो भइरहेको छ । आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजीं) र एट्लेटिको म्याड्रिडबीच खेल थियो । खेल सुरु भएको मात्र के थियो, मैदानमा नापिएको तापक्रम ३१ डिग्री सेल्सियस थियो ।
पीएसजीका प्रशिक्षक लुइस एनरिकेले गर्मीबाट खेल प्रभावित रहेको सुनाए । उनको भनाइ थियो, ‘खेलमा हाम्रा खेलाडीको प्रदर्शन केही कमजोर रह्यो, नियमित लयमा देखिएनन् । तर मलाई लाग्छ, यत्तिको गर्मीमा हाम्रा खेलाडीले जति खेल्न सके, त्यो त राम्रो नै हो ।’ प्रतियोगितामा सहभागी प्रत्येक टिमले ९ दिनको अन्तरमा लिग चरणका तीन खेल खेल्नेछन् ।
कुनै पनि प्रतियोगिताका लागि यस प्रकारको खेल कार्यक्रम खासै नौलो होइन, न त केही धेरै नै हो । खेलाडीको गुनासो भनेकै आफूले धेरैभन्दा धेरै खेल खेल्नुपरेकोमा छ । युरोपदेखि लिएर अधिकांश महादेशमा क्लब फुटबलको सिजन सकिएको भर्खर मात्र हो । पूरा लामो समय व्यावसायिक क्लब फुटबल खेलेका खेलाडी यति बेलाको समय आराम चाहन्छन् ।
यिनै खेलाडीमध्ये धेरै अहिले अमेरिकामा खेल्न बाध्य छन् । खेलाडीहरूको राष्ट्रिय संघको भन्छ, यो चाहिँ राम्रो भएन । संघले भनेको छ, ‘जुन १५ देखि जुलाई १३ को समयमा फुटबल खेल्न बाध्य भएपछि यसले खेलाडीमा शारीरिक र मानसिक दबाब सिर्जना गर्दछ । खेलाडीले आफ्नो परिवारका लागि समय दिन सकिरहेका छैनन् । यसले खेलाडी कुनै न कुनै रूपमा प्रभावित भएका छन् ।’
उत्तिकै ठूलो समस्याको रूपमा रहेको छ, प्रतियोगितामा सहभागी हुने टिम लगभग उस्तै नहुनु । सहभागी टिममध्ये केही असाध्यै राम्रा छन् भने केही असाध्यै कमजोर । त्यसैले त बायर्न म्युनिखले आफ्नो पहिलो खेलमा अकल्यान्ड सिटीलाई १०–० ले पराजित गर्यो । त्यो खेलमा ३४ पल्टको जर्मन च्याम्पियनले आफ्नो पूर्ण क्षमताको टिम उतारेको थियो, त्यसैले २१ मिनेटभित्रै उसले ४ गोल गरिसकेको थियो ।
अब डर के भने जतिबेला लिग चरणमा प्रत्येक टिमले आफ्नो दोस्रो खेल खेल्छन्, यस्तै ठुल्ठूला जित–हारको नतिजा अगाडि आउन सक्छ । यस्तोमा न्युन दर्शक, समान प्रतिद्वन्द्वी नहुँदा प्रतियोगिता त्यस्तो हुने छैन, जस्तो फिफा र अध्यक्ष इन्फाटिनोले कल्पना गरेका थिए । यसले प्रतियोगिताको भविष्यमाथि नै अन्योल सिर्जना गर्न सक्छ । विश्वास गरौं, अबका खेलहरू केही राम्रा हुनेछन् ।
