काठमाडौँ — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले क्लब वर्ल्डकपमा बुधबार विजयी सुरुआत गरेको छ । उसले समूह ‘जी’ को खेलमा मोरक्कोको वायडाड क्यासाब्लान्कालाई २–० ले हरायो ।
फिल फोडेनले खेल सुरु भएको दोस्रो मिनेटमै गोलको खाता खोलेपछि जेरेमी डोकुले दोस्रो गोल थपे । कीर्तिमान पाँच पल्टको विजेता रियल म्याड्रिड भने समूह ‘एच’ को खेलमा साउदी अरेबियाको अल हिलालसँग १–१ को बराबरीमा रोकियो ।
खेलको दोस्रो हाफको इन्ज्युरी समयमा फेडेरिको भाल्भेरडे पेनाल्टीमा गोल गर्न चुकेपछि रियल एक अंकमै चित्त बुझाउन बाध्य रह्यो । हार्ड रक स्टेडियममा रियलका नयाँ प्रशिक्षक ज्याभी एलोन्सो विजयी सुरुआत लिन असफल रहे ।
गोन्जालो गार्सियाले ३४ औं मिनेटमा रियलका लागि पहिलो गोल गरे भने रुबने नेभेसले हलालको लागि ४१ औं मिनेटमा बराबरी गोल फर्काए । साउदी क्लबका लागि यसै खेलबाट प्रशिक्षक सिमोनी इन्जाघीले डेब्यु गरेका छन् ।
