काठमाडौँ — एमेच्योर गल्फर राहुल विश्वकर्माले बिहीबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । समग्रमा २१ अन्डर २ सय ६७ स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराए । राहुलले बिहीबार ५ अन्डर ६७ को स्कोर गरे ।
यो सूर्य नेपाल गल्फ टुर २०२४ २५ सिजनको अन्तिम प्रतियोगिता हो । राहुलले सिजनको दोस्रो उपाधि हो । यसअघि उनले सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए । त्यो सूर्य नेपाल सिजनको पहिलो स्पर्धा थियो ।
समग्रमा १९ अन्डर २ सय ६९ को स्कोरमा भुवन दोस्रो भए । उनले बिहीबार ८ अन्डर ६४ को स्कोर गरे । प्रोफेसनलतर्फका विजेता उनले ३ लाख रुपैयाँ पाए । एमेच्योर सदभाव आचार्य समग्रमा १८ अन्डर २ सय ७० को स्कोरसहित तेस्रो भए । अन्तिम दिन उनले ५ अन्डर ६७ को स्कोर बनाए । उनी एमेच्योरतर्फ दोस्रो भए ।
साबिक विजेता सुबास तामाङ समग्रमा १५ अन्डर २ सय ७३ सहित चौथो भए । उनले इभन पार ७२ स्कोर गरे । प्रोतर्फ दोस्रो हुँदा उनले १ लाख ८५ हजार जिते । भुटानका एमेच्योर निमदोर्जी तामाङ समग्रमा १४ अन्डर २ सय ७४ सहित पाँचौं स्थानमा रहे । बिहीबार ६ अन्डर ६६ को उत्कृष्ट स्कोर बनाएका उनी एमेच्योरतर्फ उनी तेस्रो भए ।
धरानका प्रो नीरज तामाङले १ ओभर ७३ स्कोर गरे । समग्रमा १० अन्डर २ सय ७८ सहित छैटौं भए । प्रोतर्फ तेस्रो भएका उनले १ लाख २५ हजार जिते । उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन् । उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय रुपैयाँ कमाइ गर्दै अर्डर अफ मेरिटमा पहिलो स्थान हात पारे ।
दिनेश प्रजापति समग्रमा ९ अन्डर २ सय ७९ स्कोरसहित सातौं भए । उनले २ अन्डर ७० स्कोर गरे । प्रोतर्फ चौथो भएका उनले १ लाख ५ हजार पाए । शुक्रबहादुर राई समग्रमा ८ अन्डर २ सय ८० सहित आठौं भए । ५ अन्डर ६७ स्कोर गरेका उनी प्रो तर्फ पाँचौं भएर ९२ हजार हात पार्न सफल भए ।
समग्रमा ३ अन्डर २ सय ८५ को स्कोरसहित प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्त नवौं स्थान ओगटे । सञ्जयले इभन पार ७२ र वाङ्चेनले २ अन्डर ७० मा खेल टुंग्याए । प्रोतर्फ छैटौं भएका सञ्जयले ८४ हजार पाए । रवि खड्का, धनबहादुर थापा, जयराम श्रेष्ठ र तोरणविक्रम शाही प्रोतर्फ उत्कृष्ट १० भित्र रहे ।
तेस्रो दिन अग्रता बनाएका राहुलले बिहीबार फ्रन्टनाइनमा बोगीरहित ५ अन्डर ३१ स्कोर गरे । उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । ११ र १२ औं होलमा पनि शट बचाउँदा २३ अन्डरमा स्कोर पुर्याएका थिए । तर ४ पारको १४ औं होलमा डबल बोगी खेप्दा ब्याकनाइन इभन पार ३६ मा टुंग्याए ।
भुवनले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्टनाइन ५ अन्डर ३१ मा सके । यसपछि ११, १२, १५ र १७ औं होलमा शट बचाए । १४ औं होलको बोगीले ब्याकनाइन ३ अन्डर ३३ मा पार गरे ।
सदभावले फ्रन्टनाइनमा इभन पार ३६ खेले । तेस्रो होलमा डबल बोगी खेपे । छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा शट खेर फाले । यसपछि १२ औं होलमा इगलको सफलता पाउँदा ११, १४ र १५ औं होलको बर्डीले ब्याकनाइन ५ अन्डर ३१ मा सके ।
विजेतालाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गरे ।
