ग्लास्गो, स्कटल्यान्ड — करण केसीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो १ सय विकेट पूरा गरेका छन् । तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डविरुद्धको खेलबाट करणले १ सय विकेटको आँकडालाई छोएका हुन् । ३३ वर्षे करणले ८० खेलमा १ सय विकेट पूरा गरेका हुन् ।
करणले खेलको दोस्रो तथा आफ्नो पहिलो ओभरको तेस्रो बलमा जर्ज मुन्सीलाई ८ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराई आफ्नो १ सय विकेट पूरा गरेका हुन् ।
करण ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी हुन् । सन्दीप लामिछानेले नेपालबाट ५८ खेलमा १ सय ११ विकेट लिइसकेका छन् । सोमपाल कामी ७८ खेलमा ७६ विकेटका साथ तेस्रो, अविनाश बोहरा ६२ खेलमा ७५ विकेटका साथ चौथो र दीपेन्द्रसिंह ऐरी ८० खेलमा ५० विकेटका साथ नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन् ।
१० वर्ष अगाडि नेपालको नेदरल्यान्ड्स भ्रमणमा एमस्ट्राडाममा नेदरल्यान्ड्सविरुद्ध खेलेर करणले ट्वान्टी–२० अन्तर्राष्ट्रियको यात्रा सुरु गरेका थिए । नेदरल्यान्ड्सको खेलबाट करण र दीपेन्द्र नेपालका लागि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ८० खेल खेल्ने खेलाडी बनेका छन् ।
सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध कीर्तिपुरमा २२ रन खर्चेर ५ विकेट लिनु करणको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन थियो । मलेसिया सम्मिलित तीनदेशीय उक्त शृंखलामा करणले १३ विकेट लिएका थिए, जुन करणको एउटा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन रहेको छ ।
गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा करणलाई २ म्याचमा मात्र खेलाइएको थियो । जबकी नेपालमा भएको ट्वान्टी–२० विश्वकप छनोटको ५ खेलमा करणले ७ विकेट लिएका थिए । करणले ४४ इनिङ्समा १५२ माथिको स्ट्राइक रेटमा ४ सय ५७ रन बनाइसकेका छन् । नेपालबाट १० खेलभन्दा बढी खेल खेलाडीमा करण सबैभन्दा बढी स्ट्राइक रेटमा रन बनाउने खेलाडी हुन् ।
स्कटल्यान्ड भ्रमणमा करण निकै प्रभावकारी बन्दै आएका छन् । डन्डीमा भएको लिग २ को एकदिवसीय शृंखलाको ४ खेलमा करणले नेपालबाट सर्वाधिक ७ विकेट लिएका थिए । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा उनले ४१ बल खेलि ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६५ रन बनाई नेपाललाई अविश्वसनीय विजय दिलाएका थिए ।
