सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाउँपालिका र जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा सम्पन्न सातौँ जिल्लास्तरीय पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लबले उचालेका छन् ।
सोमबार राजधानी काठमाडौंको टियु क्रिकेट मैदानमा सम्पन्न फाइनल खेल वर्षाले प्रभावित भएपछि दुवै टोलीलाई विजेता घोषणा गरिएको आयोजक टिमले जनाएको छ । फाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लबले पहिले ब्याटिङ गर्दै सार्थक धितालको अविजित ६१ रनको योगदानमा १७.४ ओभरमा १३३ रन बनाएको थियो । 'त्यसपछि आएको वर्षाले दोस्रो इनिङको खेल सम्भव हुन नसक्दा मेलम्ची र पाँचपोखरीलाई संयुक्त विजेता घोषणा गरिएको हो ,' आयोजक समितिका संयोजक ग्याल्वो साम्देनले भने ।
दुवै टोलीले नगद पुरस्कारस्वरूप जनही ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरू पनि घोषित गरिएको छ । 'द माइटी साँगाचोक' का अशोक पौडेल उत्कृष्ट ब्याटर, मेलम्चीका सोनु देवकोटा उत्कृष्ट बलर र मेलम्चीकै रिन्जिन लामा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । रिन्जिन लामालाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ६ महिनाको निःशुल्क प्रशिक्षण दिनेछ भने उत्कृष्ट बलर र ब्याटरले तीन–तीन महिना निःशुल्क प्रशिक्षण प्राप्त गर्नेछन् ।
साथै, तीनैजना उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले पनि अतिरिक्त तीन–तीन महिनाको विशेष प्रशिक्षणको व्यवस्था गर्ने घोषणा गरेको छ । सिन्धुपाल्चोकको ग्रामीण भेगमा क्रिकेटको बढ्दो रुचि र प्रतिभा उजागर गर्ने प्रतियोगिता बन्न थालेको आयोजकहरूले बताएका छन् ।
