नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एक सय खेल, किरण र रुपेश नेदरल्यान्ड्सविरुद्ध ‘डेब्यु’ गर्दै

असार २, २०८२

विनोद पाण्डे

100 games in Nepal's Twenty20 international, Kiran and Rupesh making their 'debut' against Netherlands

ग्लास्गो, स्कटल्यान्ड — नेपालले तीन देशीय ट्वान्टी–२० शृंखलामा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा सोमबार टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

नेपालको प्रतियोगितामा पहिलो खेल हो । आइतबार सुरु प्रतियोगितामा नेदरल्यान्ड्स पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो एक सय खेल हो । नेपालले सन् २०१४ मा बंगलादेशमा हङकङविरुद्ध ट्वान्टी २० विश्वकपमा आफ्नो पहिलो खेल खेलेको थियो । नेपालबाट दीपेन्द्रसिंह ऐरी र करण केसीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ७९ खेलमा सहभागिता जनाउँदै छन् ।

नेपालले किरण ठगुन्ना र रुपेश सिंहलाई ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न दिएको छ । अलराउन्डर किरण अघिल्लो महिना वैकल्पिक खेलाडीको रुपमा हङकङ पुगे पनि खेल्न पाएका थिएनन् । मधेश प्रदेशका ब्याटिङ अलराउन्डर रुपेशले गत वर्ष कीर्तिपुरमा आयरल्यान्ड ‘ए’ विरुद्ध खेलेर लिष्ट ‘ए’ को यात्रा सुरु गरेका थिए ।

100 games in Nepal's Twenty20 international, Kiran and Rupesh making their 'debut' against Netherlandsतस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

ट्वान्टी–२० शृंखलाका लागि स्कटल्यान्ड आएका लोकेश बम नेपालबाट प्लेयिङ ११ बाट खेलिरहेका छन् । नेपाली टोलीमा लोकेशसहित, कुशल भुर्तेल, अनिल साह, रोहित, दीपेन्द्र, किरण, रुपेश, करण, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी प्लेयिङ ११ बाट खेलिरहेका छन् ।

आसिफ शेख, भीम सार्की, आरिफ शख, रिजन ढकाल र बसिर अहमद प्लेयिङ ११ मा रहेका छैनन् । नेदरल्यान्ड्सबाट भिभीएन किङ्मा, पाउल भान मिकेरेन, आर्यन दत्त र रोइलोफ भान डेर मर्बी प्लेयिङ ११ बाट खेलिरहेका छैनन् ।

तीन देशीय प्रतियोगितामा तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ ।

अघिल्लो साता विश्वकप क्रिकेट लिग–२ मा उच्च प्रदर्शन गरेको नेपाली टोली डन्डीबाट ग्लास्गो आइपुगेको छ । डन्डीमा सनसनी नतिजा निकाल्ने क्रममा नेपालले नेदरल्यान्ड्सविरुद्धको दुवै खेल जित्ने क्रममा ५ विकेट र १६ रनको नतिजा निकालेको थियो । स्कटल्यान्डसँग भने नेपाल १ खेलमा विजय र अर्कोमा पराजय भोगेको थियो । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully