२७ वर्षपछि दक्षिण अफ्रिकाले जित्यो मुख्य उपाधि

लर्डसमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको दक्षिण अफ्रिकाले यसअघिका हृदयविदारक हारहरू बिर्सन सक्नेछ

असार १, २०८२

एएफपी

After 27 years, South Africa won the main title

लन्डन — एडेन मारक्रमले बनाएको ठोस शतकको मदतमा दक्षिण अफ्रिकाले शनिबार लर्डसमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । 

दक्षिण अफ्रिकाले आफ्नो एक शताब्दीभन्दा लामो टेस्ट इतिहासबीच अन्ततः यो उपाधि जितेको हो । जितका लागि २ सय ८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ५ विकेटमा त्यसलाई आत्मसात् गरेको थियो । २७ वर्षपछि दक्षिण अफ्रिकाले प्रमुख क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

यो सफलताले दक्षिण अफ्रिकाले दशकौंदेखि आईसीसीका ठूला प्रतियोगितामा भोगेका हृदयविदारक हारहरूलाई बिर्साइदिएको छ । त्यसमा बमिङ्घम १९९९, ढाका २०११, अकल्यान्ड २०१५, कोलकाता २०२३ र ब्रिजटाउन २०२४ मा दक्षिण अफ्रिकाको पीडादायी हार थियो । 

दक्षिण अफ्रिकाको जित लञ्चअगाडि नै सम्भव भएको थियो । ओपनिङ ब्याटर मारक्रम १ सय ३६ रन बनाएर आउट भए । त्यतिबेला दक्षिण अफ्रिकालाई जितका लागि थप ६ रन आवश्यक थियो । प्रोटियसले दुई विकेट गुमाएर २ सय १३ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । टोलीलाई जितसम्म पुग्न थप ६९ रन आवश्यक थियो । मारक्रम पहिलो इनिङ्समा शून्यमै आउट भएका थिए । 

तर, उनले चौथो दिनको सुरुआत १ सय २ रनको स्थितिबाट गरेको हो । उनको अर्को छेउ कप्तान टेम्बा बाभुमा ६५ रनमा नटआउट थिए । उनी ‘ह्यामस्ट्रिङ–इन्ज्युरी’ बाट गुज्रिरहेका छन् । दबाबमा सफलता टुट्ने दक्षिण अफ्रिकाको लामो इतिहास रहेको स्थितिमा लगातार जित्ने बानी भएको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासामु सहज मान्ने अवस्था पनि थिएन ।

दक्षिण अफ्रिकाले यसअघि १८ एकदिवसीय र ट्वान्टी–२० विश्वकपमध्ये एकैपल्ट फाइनल यात्रा तय गरेको थियो । त्यो एउटा उपलब्धि पनि गत वर्ष ट्वान्टी–२० विश्वकपमा प्राप्त भएको हो । तर निर्णायक खेलमा दक्षिण अफ्रिका भारतको हातबाट पराजित भयो ।

त्यतिबेला पनि टोलीलाई जितसम्म पुग्न ३० बलमा ३० रन चाहिएको थियो र टिमसँग ६ विकेट बाँकी नै थियो । त्यसैले पनि हातैमा आएको खेल गुमाउने बानी भएको दक्षिण अफ्रिकाको उपनाम नै ‘चोकर्स’ रहने गरेको थियो । यसपल्ट भने दक्षिण अफ्रिकाले आफ्नो त्यो छवि तत्कालका लागि मेटेको छ । 

यस क्रममा त्यो काम गरेको छ, जुन पुराना खेलाडी एलान डोनाल्ड, शन पोलाक, एबी डी भिलियर्स र ज्याक कालिसले गर्न सकेका थिएनन् । चौथो दिन बिहानकै खेलमा दक्षिण अफ्रिकाले बाभुमालाई भने गुमाएको थियो । उनले एकै रनमात्र थप्ने सके । बाभुमा विपक्षी कप्तान प्याट कमिन्सको बलमा विकेट पछाडि समातिए । यसले मारक्रमसँग उनको १ सय ४७ रनको साझेदारी टुटेको थियो । त्यतिबेला टिम ३ विकेट गुमाएर २ सय १७ रनको स्थितिमा थियो । 

लर्डसमा मज्जाले घाम लागेको थियो भने पिच ब्याटरहरूलाई सहयोग गर्ने खाले थियो । त्यसैले स्थिति दक्षिण अफ्रिकाकै पक्षमा थियो । लगतै मारक्रमले तीव्र गतिका बलर कमिन्सको बलमा चौका प्रहार गर्दै आफ्ना समर्थकलाई खुसी बनाए । ती समर्थकलाई चौथो दिन लामो समयको क्रिकेट नहुने थाहा थियो, तर उनीहरू बाक्लो संख्यामा दर्शकदीर्घामा उपस्थित थिए । कमिन्सकै बलमा एक अर्को चौका प्रहार गर्दै लक्ष्यलाई ५० रनमा छोट्याए । 

कमिन्सले त्यसपछि नथान लियोनलाई बलिङ आक्रमणमा उतारे । त्यसको उद्देश्य थियो, उनको अफ–स्पिन बलिङले दक्षिण अफ्रिकालाई दबाबमा ल्याउने छ । तर अर्का तीव्र गतिका बलर मिचेल स्टार्कले ट्रिस्टन स्टब्सलाई उत्कृष्ट बलमा आउट गर्दै अस्ट्रेलियाको भरोसा कायम राखे । अस्ट्रेलियाले नयाँ बलको अस्त्र पनि प्रयोग गर्‍यो, यसपल्ट भाग्य उसको साथमा थिएन । मारक्रमले जोस हेजलउडको बलमा एक चौका प्रहार गरेलगतै ३ रन पनि बटुले । 

मारक्रमले आफ्नो टिमको लक्ष्य भने पूरा गर्न सकेनन् । हेजउलडकै बलमा मिडविकेटमा ट्रेभिस हेडद्वारा समातिए । यससँगै उनको २ सय ७ बलको इनिङ्समा पूर्णविराम लाग्यो । त्यसमा १४ चौका सामेल थियो । पेभेलियन फर्कने क्रममा अस्ट्रेलियाली खेलाडीले उनलाई बधाई दिन भने बिर्सेनन् । दर्शकले पनि उभिएर उनलाई अभिवादन गरे । अन्त्यमा काइल भेरेनेले जितको औपचारिकता पूरा गरेपछि दक्षिण अफ्रिकाले लर्डसमा दोस्रो ठूलो लक्ष्य पछ्याएको कीर्तिमान बनायो । 

जितपछि अत्यधिक भावुक भएका दक्षिण अफ्रिकी खेलाडी केशव महाराजले भने, ‘हामी एउटा टिममात्र थिएनौं, हाम्रो पछाडि पूरा देश थियो । हामी सधैं भलाद्मी रहन चाहन्छौं र असल खेल नै खेल्न खोज्छौं । एउटा क्रिकेट मन पराउने देशका रूपमा हामी सही दिशातर्फ अग्रसर छौं । लगभग २५ वर्षको लगातार पीडापछि हामीले अन्ततः सफलता चुम्यौं, त्यसैले हामी सबै असाध्यै भावनात्मक भएका छौं । विविधता नै हाम्रो परिचय हो, हामी इन्द्रेणी देश हौं । यो उपाधिले हाम्रो देशलाई अझ एकजुट हुन मदत गर्नेछ ।’

सन् १९९८ को च्याम्पियन्स ट्रफीको सफलतापछि दक्षिण अफ्रिकाले विश्वस्तरको उपाधि जित्न सकेको थिएन । यस सफलताले आफ्नो भूमिमा हुने २०२७ को एकदिवसीय विश्वकप तयारीका लागि दक्षिण अफ्रिकालाई राम्रो संकेत मिलेको छ ।

एएफपी

Link copied successfully